
काठमाडौं । भदौ ३ गतेदेखि सार्वजनिक निष्कासनमा आएको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओ दोस्रो दिनसम्म ५७ दशमलव ७० प्रतिशत विकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार भदौ ४ गते साझ ५ बजेसम्म ५२ हजार ९८८ जना आवेदकहरुले २० लाख ५७ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिएका हुन ।
लिवर्टीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर विक्री खुला गर्न लागेको छ । यस अघि पहिलो चरणमा आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानियका लागि कम्पनीले साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २४ गते बाँडफाँट गरेको हो । स्थानियलाई जारी गरिएको मध्य विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वसाधारणमा आईपीओ विक्री गर्न लागिएको हो ।
छिटोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म विक्रीमा रहने यस कम्पनीको शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि पनि शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । चुक्तापूँजीमा संस्थापक तर्फ ७५ प्रतिशत , सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व रहनेछ ।
कम्पनीले पहिलो आयोजना लमजुङ जिल्लामा निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस