
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ पहिलो दिन ५५ हजार २८४ जनाले भरेका छन् । यी आवेदकहरुबाट २७ लाख ३० हजार १३० कित्ता शेयर खरिदको लागि आवेदन परेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि भदौ ४ गतेदेखि कुल ६३ लाख कित्तामध्य ५६ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको कुल ६३ लाख कित्तामध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित पश्चात बाँकी रहेको शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।
यस आईपीओ खरिदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गतेसम्मको समय तोकिएको छ । रिलायन्सको आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्बा सेवा अनिवार्य गरिएकाले आईपीओ खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तिय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले आईपीओ विक्री गर्न साउन १६ गते अनुमति पाएको थियो । हाल १ अर्ब ४७ करोड रुपैयाँ चुक्तापूँजी रहेको रिलायन्स लाइफले बीमा समितिले तोके बमोजिम २ अर्ब रुपैयाँ ूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस