
काठमाडौं । भदौ ४ गतेदेखि विक्री खुला भएको रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ भने आज अन्तिम दिन रहेको छ । यी दुबै कम्पनीको आईपीओमा माग भन्दा बढीनै आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुन लागेको हो । रिलायन्सको आईपीओ खरिदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गते र समाजको छिटोमा भदौ ८ र ढिलोमा भदौ १८ गतेसम्मको समय तोकिएको थियो ।
समाज लघुवित्तले ८० हजार ७०० कित्ता र रिलायन्स लाइफले ५६ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेका हुन । प्राथमिक बजार पूर्ण प्रविधिमैत्री बनिसकेको अवस्थामा उपत्यकामा भदौ ४ गतेदेखि जारी निशेधाज्ञाका विच पनि दुवै कम्पनीहरुले आईपीओ विक्री खुला गरेका हुन । रिलायन्स लाइफको विक्री प्रबन्धक सानिमा क्यापिटल र समाज लघुवित्तको सिद्धार्थ क्यापिटल रहेको छ ।
समाज लघुवित्तले प्रतिशेयर रू. १०० अंकित दरको ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो । त्यस्तै रिलायन्स लाइफले प्रतिशेयर रू. १०० अंकित दरको कुल ६३ लाख कित्ता शेयरमध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
रिलायन्सको आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ भने समाज लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्बा सेवा अनिवार्य गरिएकाले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तिय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस