
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युत्भार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका छन ।
विद्युत्भार कटौतीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादेशले काम गरेको स्पष्ट पारेका छन । घिसिङले जारी गरेको विज्ञप्तिमा विद्युत्भार कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी नै हुन् भनेका छन ।
सबैको सहयोग र हौसला नपाएको भए एक व्यक्तिको प्रयासबाट मात्रै विद्युत्भार कटौतीको अन्त्य गरी संस्थालाई मुनाफामा लैजानेलगायतका उपलब्धी हासिल गर्न सम्भव नभएको विज्ञप्तीमा उल्लेख गरेका छन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई चार वर्षका लागि नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस