aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

यूनिभर्सल पावरको साधारणसभा सम्पन्न, अर्को वर्ष ८ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
यूनिभर्सल पावरको साधारणसभा सम्पन्न, अर्को वर्ष ८ प्रतिशत लाभांश

काठमाडौं । यूनिभर्सल पावर कम्पनीको साधारणसभा सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई ८ प्रतिशत लाभांश दिने योजना पेश गरेको छ । 

सोमबार सभामा बोल्दै कम्पनीका निवर्तमान अध्यक्ष अनिलकुमार रुङ्गटाले आगामी आर्थिक वर्षदेखिनै मुनाफा आर्जन गरी लाभांश वितरण गर्ने योजना रहेको बताए । पहिलो वर्षको नाफाबाटै ८ प्रतिशत लाभांश दिने कम्पनीको प्रक्षेपण रहेको उनले बताए ।

यस कम्पनीले दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट आगामी साउन महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । 

सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालकहरु निर्वाचित गरेको छ । कम्पनीले संस्थापकतर्फबाट ४ र सर्वसाधारण तर्फबाट एक महिलासहित ३ जना गरी ७ सञ्चालक निर्वाचित गरेको निर्वाचित गरेको छ । निर्वाचित सदस्यहरुमा संस्थापकतर्फबाट उत्तम व्लोन लामा, बिनय भण्डारी, गोकर्ण पराजुली र निर बहादुर बुढाथोकी रहेका छन् भने सर्वसाधारण तर्फबाट लक्ष्मी पौडेल, भोज कुमार खड्का र प्रभु लाल अधिकारी रहेका छन् । 

नव निर्वाचित सञ्चालकहरुमध्यबाटै अध्यक्ष चनय हुनेछ । कम्पनीले दिएको जानकारी अनुसार सोमबारभने सञ्चालक समितिको बैठक बस्न सकेन । आगामी बस्ने सञ्चालक समितिको पहिलो बैठकले अध्यक्ष चयन गर्नेछ । कम्पनीले सञ्चालकको निर्वाचन सँगै गत वर्षको वार्षिक प्रगतिप्रतिवेदन, चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्ने कार्यक्रम समेत सम्पन्न गरेको छ । 

यस आयोजना सँगै कम्पनीले २०७४ मङ्सिर १२ गते सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकामा २४.२२ मेगावाट क्षमताको माथिल्लो इखुवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमति पत्र पाईसकेको छ ।  साथै यस कम्पनीले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ५ मेगावाट क्षमताको रूकुम गाड जलविद्युत आयोजनाको निर्माण समेत गरिरहेको छ । 

कम्पनीले चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्ममा  १ करोड २८ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा  १ करोड २६ लाख ५ हजार रुपैयाँ थियो । कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस