aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ट्रम्पलाई स्वेदेशबाटै चुनौती, ट्रम्पले लखेटेको ‘टिकटक’ दुई अमेरिकी कम्पनीले किन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
ट्रम्पलाई स्वेदेशबाटै चुनौती, ट्रम्पले लखेटेको ‘टिकटक’ दुई अमेरिकी कम्पनीले किन्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लखेट्न खोजेको चिनियाँ स्वामित्वमा रहेको लोकप्रिय भिडिओ एप ‘टिकटक’ अमेरिकी दुई कम्पनीले किन्ने भएका छन् । अमेरिकी बहुराष्ट्रिय रिटेल कम्पनी ‘वालमार्ट’ ले अर्को अमेरिकी सफ्टवेयर कम्पनी ‘माइक्रोसफ्ट’ सँग मिलेर टिकटक किन्न लागेका हुन् । 

द न्युयोर्क टाइम्सका अनुसार यसका लागि दुवै पक्षबीच नेगोसिएसन चलिरहेको छ। नेगोसिएसनमा संलग्न अधिकारीहरूले केही दिनभित्रै टिकटकले अन्तिम निर्णय लिने बताएका छन्। वालमार्टले यसबारे विज्ञप्ति जारी गर्दै भनेको छ, ‘वालमार्ट र माइक्रोसफ्टको साझेदारीले अमेरिकी टिकटक प्रयोगकर्ताहरूको अपेक्षा पूरा गर्नेछ। अमेरिकी नियमन निकायहरूलाई पनि हामी गुनासोको मौका दिने छैनौं।’

टिकटकले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ भने माइक्रोसफ्टले पनि कुनै प्रतिक्रिया जनाएन। आर्थिक तथा वित्तीय समाचार प्रसारण गर्ने च्यानल सिएनबिसी ले भने वालमार्ट यो नेगोसियनमा संलग्न रहेको समाचार प्रसारण गरेको थियो। टिकटक र अमेरिकाबीच केही समयदेखि सम्बन्ध बिग्रिएको थियो।

टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनी बाइटडान्सलाई सेप्टेम्बर मध्यभित्र आफ्नो सम्पूर्ण अमेरिकी गतिविधि बन्द गर्न ह्वाइट हाउसले निर्देशन दिएको थियो। यसले टिकटक निम्ति खरिदकर्ता खोज्न बाइटडान्स बाध्य भएको हो।

माइक्रोसफ्टले केही सातादेखि टिकटक किन्ने इच्छा देखाउँदै नेगोसिएसन अघि बढाएको जानकारहरू बताउँछन्। सुरूमा माइक्रोसफ्टले थोरै सेयर किन्ने गरी नेगोसिएसन गरे पनि विस्तारै यसले ठूलो रूप लिँदै गएको स्रोतको दाबी छ। यसबीच अर्को सफ्टवेयर उत्पादक कम्पनी ओर्‍याकलले टिकटक किन्न नेगोसिएसन सुरू गरेको छ।

टिकटकको सम्भावित खरिद मूल्य २० अर्बदेखि ५० अर्ब अमेरिकी डलर हुने अनुमान छ। प्रतिस्पर्धामा रहेका खरिदकर्तामध्ये सबभन्दा ठूलो नाम माइक्रोसफ्ट नै हो। यो कम्पनीको चालू पुँजी १३७ अर्ब डलर छ भने बजार मूल्य १७ खर्ब डलर छ।

प्रतिक्रिया दिनुहोस