aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
होटल क्वारेन्टिन

पर्यटन मन्त्रीले नै होटल व्यवसायीलाई झुक्याएपछि ...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
पर्यटन मन्त्रीले नै होटल व्यवसायीलाई झुक्याएपछि ...


काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले विदेशबाट स्वदेश फर्किएका पीसीआर नेगेटिभ आएका नेपालीलाई क्वारेन्टिनमा बस्न नपर्ने भनेपछि होटल व्यवसायी अन्योलमा परेका छन् । सरकारले यसअघि विदेशबाट फर्कने प्रत्येक व्यक्तिलाई सात रात तथा आठ दिन अनिवार्य क्यारेन्टिनमा बस्नै पर्ने व्यवस्था गरेको थियो । सरकारको आग्रहअनुसार होटल व्यवसायीले ५ तारे होटल क्वारेन्टिनका लागि प्रयोग नल्याएपनि अन्य होटल भने खुलाए । 

विदेशबाट नेपाल फर्किकाको क्यारेन्टिन सेवाको लागि होटल व्यवसायी महासंघ र नेपाल होटल संघले व्यवस्थापन पनि मिलायो । निश्चित प्रतिशत तलब दिएर घर पठाएका कर्मचारीलाई कार्यालयमा बोलाएर स्वदेश फर्केका नेपालीको सेवामा खटाइयो । तर, होटल खुले क्यारेन्टिनमा बस्ने भने सरकारले निर्देशन गर्दाको जस्तो नभएर अत्यन्त कम भएको नेपाल होटल संघका उपाध्यक्ष विनायक शाहले बताए ।
‘हामीले सरकारको आग्रह अनुसार होटल खोल्यौ,’ तर होटलमा बस्ने भने एकदम कम छन्,’ उनले भने ‘यसको मूल कारण हो मन्त्रीको पछिल्लो अभिव्यक्ति ।’ त्यसैले व्यवसायीले सोचेजस्तो होटल क्यारेन्टिनमा बस्ने नआउने देखिएको उनले बताए ।  पर्यटन मन्त्री योगेश भट्टराईले साउन २८ गते यसअघि भएको मन्त्री परिषदको निर्णयलाई आधार मानेर पीसीआर रिपोर्ट नेगेटिम आएको ७२ घण्टा बितेका यात्रुलाई विमानस्थलबाटै सिधै होम क्वारेन्टिनमा बस्ने शर्तमा घर जान पाउने व्यवस्था गरेका छन् । 

पीसीआर रिपोर्ट नभएका र चेक भएर नेगेटिभ रिपोर्ट आएका यात्रु एउटै उडानमा ल्याएको अवस्थामा पनि नेगेटिभ रिपोर्ट आएका पनि सिधै घर जान नपाउने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा सम्बन्धित वायुसेवाले नै होटल क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने शर्तमा सरकारले उडान अनुमति दिएको हो । कुवेत, कतार, साउदी अरबलगायतका मुलुकबाट आउनेले पीसीआर टेष्ट सहज सुविधा नपाएका कारण त्यसै आएपनि अन्य मुलुकबाट आउनेले भने पीसीआरको रिपोर्ट लिएमात्र आउने उनले बताए । 

‘स्वास्थ्य सुरक्षाका साथै खाना, बसोबास, नियमित स्वास्थ्य परीक्षणको सेवा अवलम्बन गर्दै हामीले पाहुनाहरुलाई क्वारेन्टिन सेवा दिँदै आएका छौं,’ शाहले थपे  ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार नजिकको होटल एयरपोर्टलेले यतिखेर उद्दार उडानमार्फत आएका ८१ जना पाहुना क्वारेन्टिनको सेवा दिँदै आएको छ भने अर्को होटल आनन्द पशुपतिले ७५ जनालाई सेवा दिइरहेको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका उपाध्यक्ष शाहले बताए । उनीहरू एयर अरेबियाबाट भदौ ९ गते स्वदेश फर्केका हुन् । उक्त दिन एयर अरेवियाबाट १५६ जना यात्रु आएका थिए । 

एयर अरेवियाको यात्रुको बिलिङमा समस्या

उपाध्यक्ष शाहले उनीहरूको बिलिङमा समस्या आएको पनि बताए । ‘कुनै पनि एयर लाइन्सले पीसीआर नेगेटिभ आएका र परीक्षण नै नगरी स्वदेश फर्केका यात्रुलाई एउटै जहाजबाट ल्याएमा यसको क्यारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च एयरलाइन्स कम्पनीले व्यहोर्नु पर्छ,’ शाहले भने ‘यसको बिलिङमा समस्या आएको छ ।’ 

सरकारले यसको लागि छानबिन समिति नै बनाएर अध्ययन गरिरहेको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । ‘यसको रिपोर्ट आउँदैछ,’ उनले भने ‘ उक्त उद्दार उडानमा समस्या आएको हो ।’ अब त्यस्तो हुँदैन । रिपार्ट भएका  र नभएकालाई एउटै जहाजमा ल्याउने काम किन गथ्र्ये अब एयरलाइन्स कम्पनीहरूले,’ उनले थपे ।  

सरकारले १७ भदौबाट दैनिक ५०० जना सम्मको लागि नियमित उडान खुला गरेको छ । नियमित उडानमा भने पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रु होम क्वारेन्टिनमा बस्ने शर्तमा सिधै घर जान पाउने छन् । 

यति छन् सरकारले क्यारेन्टिका लागि तयार पारेका होटल

सरकारले विदेशबाट स्वदेश फर्कने नेपाली यात्रुलाई क्वारेन्टिनमा राख्न काठमाडौंका १५८ वटा होटलका ४ हजार ७०२ वटा कोठा तयार पारेको छ । हुन त पर्यटन विभागले दुई सय वटा होटललाई सम्झौता गरेको छ । पर्यटन विभागका अनुसार होटल संघ नेपाल (हान) मा आवद्ध व्यवसायीका २ हजार ३३० र नेपाली होटल व्यवसायी महासंघ सम्बद्ध २ हजार ३७२ गरी कुल ४ हजार ७०२ वटा कोठा तयार पारिएको हो ।

कस्तो छ क्यारेन्टिनमा बस्नु पर्ने व्यवस्था ?

उडानबाट कोरोना परीक्षण नगरी आएका र पीसीआर परीक्षण रिपोर्ट ७२ घण्टा भित्रको नल्याएका सबै यात्रुले अनिवार्य एक साता होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय यसअघि नै सरकारले गरेको थियो । सोही निर्णय अनुसार, पर्यटक स्तरदेखि पाँचतारेसम्मका होटल क्वारेन्टिनका लागि तयार पारिएको पर्यटन विभागले जानकारी दिएको छ । 

पर्यटन विभागले होटल व्यवस्थापनको लागि समन्वयमात्र गरिदिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । उद्दार उडानबाट विमानस्थलमा आइपुगेका यात्रुलाई नेपाली सेनाले काठमाडौंमा रहेको दुईवटा होल्डिङ सेन्टरमा लैजान्छ । त्यहाँबाट को कहाँ जाने भन्ने तय हुनेछ । होटलमा जानेहरुका लागि सम्बन्धित होटल सञ्चालकहरूले नै लिन आउने व्यवस्था मिलाएको छ । होटल संघ नेपाल (हान) ले सातामा तीन दिन र नेपाली होटल महासंघले चार दिन पालो गरेर यात्रु लैजाने छन् ।’

विदेशबाट फर्केका कति छन् क्यारेन्टिनमा ?

हानले हरेक आइतबार, मंगलबार, बिहीबार र शनिबार होटल क्वारेन्टिनको व्यवस्था गर्नेछ भने बाँकी तीन दिन नेपाली होटल व्यवसायी महासंघले गर्ने पनि उल्लेख छ । सरकारको निर्णयपछि उद्दार उडानबाट आएकामध्ये ९ भदौमा ३२३ जना र १० भदौमा ३२० जना होटल क्वारेन्टिनमा गएको सीसीएमसीले जानकारी दिएको छ । 

होटल क्वारेन्टिनमा बस्नेले ७ रात ८ दिनको न्यूनतम प्रतिव्यक्ति ११ हजार रुपैयाँको प्याकेज तयार पारिएको छ । यस्तो प्याकेजमा पर्यटक स्तरका र २० कोठा भन्दा बढीको कोठा संख्या भएका होटलका लागि छनोट गरिएको छ । 

क्वारेन्टिनमा बस्न एकतारे–बुटिकदेखि माथि पाँचतारेसम्मका होटल तयारी अवस्थामा राखेको र सम्बन्धित होटल व्यवसायीले आवश्यक व्यवस्था मिलाएर उद्दार उडानबाट आएका यात्रु लैजाने पनि उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस