काठमाडौं । कोभिडका कारण रोकिएको वैदेशिक रोजगारी सम्बन्धि श्रम स्वीकृत खुला गरेको छ । गत आइतबार बसेको मन्त्री परिषदको बैठकले श्रम स्वीकृति खुला गरेको हो । बैठकले सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवालाई गन्तव्य मुलुकसम्म पुर्याउन पूर्व तथा अन्तिम श्रम स्वीकृति दुबै खुला गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । ‘कोभिडको बीच पुनःश्रम स्वीकृति खुला गरेको सरकारले हाल आएर नयाँ श्रम स्वीकृति पनि खुला गरेको छ,’ अर्थमन्त्री डा. खतिवडाले भने ।
देशमा भएका रोजगारी समेत बन्द हुँदा तथा नयाँ रोजगारी सिर्जना गर्न नसक्दा बेरोजगारीको चाप पर्ने देखेर सरकारले यो जोखिमको अवस्थामा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो । गत आवमा ०.५ प्रतिशतले घटेको रेमिट्यान्सलाई थप घट्न नदिन सरकारले सो निर्णय गरेको हो ।
यदि वैदेशिक रोजगारीबाट रेमिट्यान्स भित्रिएन भने धेरै नेपालीको घरमा चूलो नबल्नुका साथै देशको शोधानान्तरमा समेत प्रेसर पर्ने भएपछि सरकारले श्रम स्वीकृत खुला गरेको हो । सरकारले वैदेशिक रोजगारीमा जान चाहनेको दवाव थेग्न नसकेर खुला श्रम स्वीकृति खुला गरेको हो ।
निषेधाज्ञा कै बीच श्रम स्वीकृत खुला गरेको हुनाले धेरैलाई तत्काल विदेश पठाउन नसकिएपनि चार÷पाच हजार भने तत्काल जान सक्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘मध्ये कोभिडको बेलामै ६८ देशमा करिब ५ हजार युवा रोजगारीका लागि विदेशीएका छन्,’ उनले भने ‘सेमी लकडाउन भयो भने तत्काल विदेशीनेको संख्या अझ बढ्छ ।’ कोभिडकै बीचमा जापानमा १६ सय कामदार गएका छन् । पछिल्लो समय अर्धदक्षभन्दा पनि दक्ष कामदारको माग बढी आएको महानिर्देशक दाहालले बताए । अहिले धेरै कामदार वैदेशिक रोजगारमा जान चाहिरहेको उनले बताए ।
कोभिडपछिको यो पहिलो चरणमा हामी काठमाडौंबाट मात्रै श्रम स्वीकृति खोल्ने छौं,’ उनले थपे ‘यदि स्थिति राम्रो हुँदै गयो भने अन्य जिल्लामा पनि विस्तारै सेवा प्रदान गर्न गर्छौ ।’ उनले अगाडि भने ‘अहिले सरकारले अत्यावश्यकीय सेवा मात्र प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा सबै ठाउँबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति प्रदान गर्न सकिने अवस्था छैन । सरकारको निर्णयले स्थगन गरिएको श्रम स्वीकृति खुला भएपनि जिल्ला जिल्लाबाट काठमाडौं आइपुग्न व्यवहारिक कठिनाइ छ । निषेधाज्ञा खुलेर सरकारी कार्यालयहरु सामान्य रुपमा खुल्न थालेपछि मात्र श्रम स्वीकृति दिन सहज हुन्छ ।’
अहिले वैदेशिक रोजगारीमा व्यक्तिगत श्रम स्वीकृत लिएर जाने जान लागेको उनले बताए । अहिले गल्फ कन्ट्रीमा भन्दा पनि पोल्याण्ड, क्यानडा, जापान, रोमानियालगायतका देशमा व्यक्तिगत श्रम स्वीकृत लिएर जान लागेका उनले जानकारी दिए । संस्थागत श्रम स्वीकृतिको प्रक्रिया लामो र जिम्मेवारी पनि भएकोले केही मुलुकबाट यस्ता श्रमिकको माग आएपनि अहिले व्यक्तिगत रुपमा जानेको संख्या बढी भएको उनले बताए ।
अब वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनु पूर्व अनिवार्य रुपमा पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ । वैदेशिक रोजगारीमा जाने कामदारका लागि ल्याइएको स्वास्थ्य सम्बन्धी मापदण्ड तथा सम्बन्धित रोजगार दाता देशले बनाएको मापदण्ड अनुरुप मात्रै वैदेशिक रोजगारीमा जाने कामदालाई श्रम स्वीकृति दिइने समेत महानिर्देशक दाहालले जानकारी दिए ।
कोभिडका कारण विदेश स्थित कतिपय कम्पनी नै बन्द भैसकेको र कतिपय कम्पनीले कामदार लिन नसक्ने अवस्थामा पुगेको हुँदा कोरोना सुरु हुनुभन्दा अघि ल्याएको मागपत्रको आधारमा श्रम स्वीकृति दिन सक्ने अवस्था नरहेको उनले बताए । पछिल्लो समय धेरै कम्पनीहरू जोखिममा परेका कारण उनीहरूको आफ्नै समस्या छ ।
त्यसकारण कोरोना सुरु हुनुभन्दा अघि आएको डिमान्टमा सम्बन्धित कम्पनीसँग प्रमाणित गरेर मात्र पूर्व तथा अन्तिम श्रम स्वीकृति दिने तयारी विभागले गरेको छ । म्यानपावर कम्पनीले सम्बन्धित रोजगारदाता कम्पनीसँग नयाँ नो अब्जेक्सन लेटर (एओसी) ल्याएपछि सो प्रक्रिया अघि बढाइने भएको हो ।
प्रतिक्रिया दिनुहोस