aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विद्युत उत्पादन सुरुनै नगरेको युनिभर्सल पावरको नाफा ५ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
विद्युत उत्पादन सुरुनै नगरेको युनिभर्सल पावरको नाफा ५ करोडभन्दा बढी

 काठमाडौं । हालसम्म विद्युत उत्पादन सुरु नगरेको युनिभर्सल पावर कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले भदौ १९ गते सार्वजनिक गरेको उक्त विवरण अनुसार अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९८ प्रतिशत बढी नाफा गरेको हो । अघिल्लो वर्ष उक्त अवधिसम्म कम्पनीले  २ करोड ८८ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

यस कम्पनीले दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले यो वाहेक अन्य आयोजना पनि निर्माण गर्ने तयारी गरेको छ । माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौता समेत गरिसकेको बताएको छ ।

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको अन्य आम्दानी बढेको र खर्च घटेको कारण खुद नाफा बढेको हो । अघिल्लो वर्ष  ४ करोड ५६ लाख ९६ हजार रुपैयाँ अन्य आम्दानी गरेको यस कम्पनीले गत वर्ष यो शिर्षकमा  ८ करोड ३१ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको छ । यस कम्पनीले गत वर्ष १४ करोड ४२ लाख ३० हजार रुपैयाँ बराबरको शेयरमा लगानी गरेको छ भने मुद्दती निक्षेपमा ९१ करोड लगानी गरेको छ । यीनै लगानीबाट प्राप्त आम्दानीले कम्पनीको नाफा बृद्धि भएको हो ।

अघिल्लो वर्ष ७२ लाख ४४ हजार रुपैयाँ खर्च गरेको कम्पनीले गत वर्ष  ६९ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी  २ दशमलव ७२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०४ दशमलव ८३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस