काठमाडौं । निजी क्षेत्रका प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका संक्रमितलाई कोरोना बीमा अन्तर्गतको दावी भुक्तानी नदिने शुक्रबारको सर्कुलर पछि बीमा समिति निकै ठूलो दवावमा परेको छ । बीमा समिति सम्बन्ध एक स्रोतका अनुसार शुक्रबारको सर्कुलरलाई व्याख्या गर्दै स्पष्टिकरण जारी गर्ने तयारीमा समिति लागेको छ ।
एकाएक निकै अव्यवाहारिक र सामान्य मान्यता समेत बर्खिलाप हुने गरी बीमा कम्पनीहरूको प्रभावमा परेर नियामक निकाय बीमा समितिले शुक्रबार सर्कुलर जारी गरेको थियो । जसअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका सरकार नियन्त्रित तर स्वायत्त स्वास्थ्य संस्थाहरू जस्तै वीर अस्पताल, पाटन अस्पताल तथा टिचिङ अस्पतालजस्ता ठूला स्वास्थ्य संस्थाहरूमा कोरोना परीक्षण गराउने समेत बीमा दावी गर्न अयोग्य हुने देखिएको थियो ।
यसरी अपरिपक्क र हास्यास्पद लाग्ने सर्कुलर जारी गरेको बीमा समितिको चर्को आलोचना भएपछि नितान्त निजी क्षेत्रले सञ्चालन गरेको बाहेक अन्य प्रयोगशालाको रिपोर्टलाई मान्यता दिने भन्दै स्पष्टिकरण दिएर लाज पचाउन बीमा समिति लागि परेको छ । सम्भवत विकम संघका अध्यक्ष सहित आज बसेको बैठकले कोभिड– १९ को मापदण्डलाई समेत सच्याउने बुझिएको छ ।
तर, बीमा क्षेत्रका विज्ञहरू भने नेपाल सरकारले कोरोनाको पीसीआर टेष्ट गर्न अनुमति दिएका सम्पूर्ण प्रयोगशालाहरूबाट प्राप्त रिपोर्टलाई मान्यता दिनुपर्ने भन्दै बीमा समितिले आफ्नो निर्णयलाई सच्याउँदै सर्कुलर फिर्ता गर्नुपर्ने धारणा राखिरहेका छन् ।
कोभिड बीमामा प्रिमियमका साथै दावीको रकममा समेत अनुदान दिनुपर्ने व्यवस्था बीमा सिद्धान्त विपरित भएको बीमा विज्ञ डा. रविन्द्र घिमिरेले बताए । ‘सरकार र बीमा कम्पनीहरूले कोभिड १९ बीमा पोलिसी व्यवसायिक हो कि सामाजिक उत्तरदायित्व पोलिसी हो छुट्याउनु पर्छ,’ उनले भने ‘नभए सरकारले अर्बौ खर्च गरेर स्वास्थ्य बीमा गरिरहेको छ ।
त्योसँग यो पोलिसीको सहकार्य किन भएन, उनले प्रतिप्रश्न गरे । समितिभित्रै विवादकाबीच ल्याइएको यो पोलिसी एक्चुरीसँग र अन्तर्राष्ट्रिय बीमा संस्थाहरूसँग सल्लाह नगरी ल्याइएको हो । वास्तविकता के हो भने यसको प्रिमियम अत्यन्त कम छ, विमाङ रकम बढी भएकोले पनि यो विवादमा परेको हो ।
कोभिड बीमा कम्पनीले ३५ हजारसम्मको दावी भुक्तानी धान्छु भन्दा अहिले नै आत्तिनु पर्ने अवस्था भने आइसकेको छैन ।
जे होस्, हामीले भन्न खोजेको यसो हो भन्दै विज्ञप्ती जारी गरेर आलोचनालाई मर्थर मान्ने प्रयत्न स्वरुप आइतबार बीमा समितिले एउटा पत्र जारी गर्दैछ । यसरी सो विषयलाई थप स्पष्ट पार्न केही क्षणमा विज्ञप्ती जारी हुने कुरा बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापगाईँले समेत स्वीकार गरेका छन् ।
चापागाईँले थप जानकारी केही बेरमा गराउने भन्दै बोर्डको बैठकले यसै विषयमा छलफल गरिरहेको समेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस