
काठमाडौं । रासायनिक मल आपूर्तिका लागि ठेक्का पाएका नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’का घरबेटी ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज सहित दुई ठेकदार कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ ।
कृषि मन्त्री घनश्याम भुसालको मन्त्रालय अन्तरगतको कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको हो । अधिकारीको शैलुङ इन्टरप्राइजेज र होमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेर कारबाही प्रक्रिया अघि बढाइएको हो ।
कम्पनीको निर्णयपछि शैलुङ इन्टरप्राइजेजको ४ लाख ४ सय २ अमेरिकी डलर र हानोको मल्टिप्रपोजको ३ लाख ८७ हजार २ सय ७५ अमेरिकी डलर समेत जफत हुने कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले आर्थिकन्युज डटकमलाई बताए ।
दुवै कम्पनीले फरक फरक ठेक्कामार्फत २५/२५ हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए उनले भने । यहि भदौ २० भित्र सबै मल नेपाल ल्याइसक्नु पर्ने थियो तर ल्याएनन र कारबाही गर्न कृषि सामग्री कम्पनी बाध्य भएको उनले जानकारी दिए ।
वै सप्लायर्ससँग विसं २०७७ वैशाख १२ र १५ गते सम्झौता भएकोमा सोही महिनाको ३० गते नेपाल इनभेष्टमेन्ट बैंक र सिद्धार्थ बैंक लिमिटेडमा प्रतितपत्र खोलिएको उनले जानकारी दिए । नियमअनुसार प्रतितपत्र खोेलेको ४२ दिनमा पहिलो सिपमेन्ट र ७२ दिन भित्रमा दोस्रो सिपमेन्ट गरी सम्पूर्ण सामान साउन ७ गतेभित्र सिपमेन्ट भै सक्नुपर्ने प्रावधान रहेकोमा दुवै सप्लायर्सले कुनै पनि काम गर्न नसकेपछि २५ दिनको म्याद थप गरिएको थियो ।
थप गरेको समयमा समेत सामन सिपमेन्ट भएको प्रमाण नहुँदा सप्लायर्सलाई कालोसूचिमा राख्दै कारवाही गरिएको हो । सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजि सप्लायससँग क्षतिपूर्ति दावी गरिने छ भने दुवै कम्पनीलाई कालोसूचीमा राख्दै आवश्यक प्रक्रिया अगाडी बढाईने उनले जानकारी दिए । आइतबार बसेको कृषि सामग्री कम्पनी सञ्चालक समितिले उक्त निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकाश मन्त्रालयले सप्लायर्सलाई कारवाहीको अधिकार दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस