
काठमाडौं । विद्युतीय वस सञ्चालनमा ल्याउने उद्वेश्यले स्थापित सुन्दर यातायात प्रा.लि.ले आज एक वर्ष पूरा गरेको छ ।
एक वर्षको छोंटो समयमा यस कम्पनीले राष्ट्रिय आवश्यकता र मुलुकको सम्वृद्वि तथा आधुनिकीकरणसंग सम्वन्धित महत्वपूर्ण उपलब्धी प्राप्त गर्न सकेको कम्पनीले जनाएको छ । उक्त अवसरमा (कोभिड–१९) महामारीबाट स्थिति सामान्यीकरण हुँदासाथ उपत्यकाभित्र १५ र बुटवल तथा बिराटनगरमा पाँच पाँचवटा विद्युतीय वस सञ्चालनमा ल्याउने जनाएको छ ।
सुन्दर यातायात प्रालिको अभिन्न अंगको रुपमा रहेको सुन्दर इन्जिनियरिङ्गको माध्यमवाट चिनको प्रख्यात बीएके कम्पनी र सिचुवान अटो मोबाइल कम्पनीसंग मिलेर रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विद्युतीय वसको एसेम्वल प्लान्ट स्थापना गर्ने प्रक्रिया शुरु भएकोमा कोरोना महामारीका कारण अबरुद्व हुन पुगेको छ ।
यसका लागि लगानीवोर्ड तथा उद्योग विभागसंग आवश्यक समन्वय भइसकेकोले स्थिति सामान्यीकरण भएको एक वर्षभित्र उद्योग कार्यान्वयनमा आउने र यसवाट यातायातको क्षेत्रमा वैदेशिक लगानीको मार्ग प्रसस्त हुने छ ।
कोभिड—१९ को अवस्था सामान्य हुँदासाथ नेपाल सरकारको मापदण्ड भित्र रही उपत्यका तथा देशको बिभिन्न शहरहरुभित्र विद्युतीय ट्याक्सी सञ्चालनमा ल्याइने कम्पनीको उदेश्य रहेको छ ।
साथै, सुन्दर यातायात प्रालिएउटा ब्यावसायिक कम्पनी भएपनि यसले सामाजिक उत्तरदायित्व अन्तर्गत् कोभिड—१९ लाई केन्द्रीत गरी नेपालमै पहिलो पटक उपत्यका प्रवेश गर्ने नाका नागढुंगा तथा भक्तपुरको जगतेमा सवारी डिस्इन्फेक्सन टनेल निर्माण गरी सुरक्षित यात्रालाई केही हदसम्म सहयोग पुर्याइएको छ ।
यसैगरी, कम्पनीकै पहलमा महामारीको अवस्थामा यात्रुको ज्वरो परीक्षण गरेर मात्र वसमा चढाउने तथा स्यानिटाइजर एवं मास्कको ब्यवस्था गर्नुकासाथै दोब्बर भाडा लिन पाउने व्यवस्था भएपनि साविक भाडामै सेवा उपलब्ध गराइएको थियो । सुन्दर इन्जिनियरिङ्गको माध्यमबाट पोर्टेवल शौचालय निर्माण गरी सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै क्वारेन्टाइन र आइसोलेसन निर्माण गरी हस्तान्तरण गर्ने अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस