aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भोलिदेखि साञ्जेन र रसुवागढीको आईपीओ, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
भोलिदेखि साञ्जेन र रसुवागढीको आईपीओ, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

काठमाडौं, वैशाख ५ । साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीले शुक्रबारदेखि आईपीओ जारी गर्दैछन् । दुवै कम्पनीले एकै दिन सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेका हुन् ।

 यी आयोजना पनि जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सामेल भएका छन् । साञ्जेन र रसुवागढीको आईपीओ निष्कासनसँगै जनताको जलविद्युत् अन्तर्गतका तीन आयोजनाले सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछन् यस अघि त्रिशूली जलविद्युत् कम्पनीले उक्त कार्यक्रमअन्तर्गत आईपीओ बिक्री गरेको थियो । 

नेपाल धितोपत्र बोर्डले लागू गरेको न्यूनतम् १० कित्ता आवेदन दिन पाउने व्यवस्था बमोजिम यी दुवै कम्पनीले यसअघि आह्वान गरेको न्यूनतम ५० कित्ताको व्यवस्थालाई परिवर्तन गरेका हुन् । दुवै कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता आवेदन गर्न सकिनेछ । 

साञ्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आईपीओमध्ये २ लाख ७३ हजार ७५० कित्ता शेयर म्युचुअल फण्डहरुलाई बाँडफाँड गरी २ लाख १९ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई संरक्षणपश्चात बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । 

त्यस्तै रसुवागढी हाइड्रोपावरले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता आईपीओ मध्य ४ लाख १३ हजार १५७ कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरेको छ भने ५ लाख १३ हजार १५७ कित्ता म्युचुअल फण्डहरुलाई बाँडफाँड गरी बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । यी दुवै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १० गते स्वीकृति पाएका थिए ।

प्रतिकित्ता न्यूनतम मूल्य रू. १०० रहेको रसुवागढीको आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम् ५ हजार कित्तासम्म र साञ्जेनको न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । दुवै कम्पनीको शेयर छिटोमा वैशाख १० र ढिलोमा जेठ ५ गतेसम्म बिक्रीमा रहने छ ।

यी कम्पनीहरुले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई आईपीओ जारी गरिसकेका छन् । आयोजना प्रभावित स्थानियलाई भने जारी गर्न बाँकी छ । दुबै कम्पनीहरुले स्थानियलाई भन्दा पहिला सर्वसाधारणको लागि आईपीओ बिक्री गर्ने भएका हुन् ।
रसुवा जिल्लामा साञ्जेनले १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र  ४२.५ मेगावाट क्षमताको साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको  छ । त्यस्तै रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । यी आयोजना चिलिमे जलविद्युत कम्पनी अन्तर्गत निर्माण भईरहेका आयोजना हुन ।

साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीका आयोजनाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको कम्पनीले जानकारी दिएको छ । रसुवागढीको निर्माणाधित आयोजनको प्रतिमेगावाट लागत रू १५ करोड १२ लाख २४१ रहेको छ । भने साञ्जेनको दुवै आयोजनाको प्रतिमेगावाट लागत रू. १५ करोड रहेको छ । 

साञ्जेनको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्षसम्म रू. ९६ दशमव ३२ रहेको छ भने रसुवागढीको रू. ९७ दशमलव २९ रहेको छ । हाल रू. ५ अर्ब १३ करोड १५ लाख ७५ हजार चुक्तापूँजी रहेको रसुवागढीको यो आईपीओ पश्चात रू. ६ अर्ब १५ करोड ७८ लाख ९० हजार पुग्नेछ । त्यस्तै हाल रू. २ अर्ब ७३ करोड ७५ लाख चुक्तापूँजी रहेको साञ्जेनको आईपीओ पश्चात रू. ३ अर्ब २८ करोड ५० लाख पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस