काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) बाट प्रभावित भदौ २५ गते बिहीवारको कारोबार राफसाफ स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कै निर्देशनमा उक्त दिनको कारोबारको राफसाफ रोकिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले जानकारी दिएको छ ।
सिडिएससीले सुचना मार्फत नेप्सेको निर्देशन बमोजिम उक्त दिनको राफसाफ अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी दिएको छ । कारोबार भएको तीन कार्यदिनभित्र राफसाफ गरिसक्नुपर्ने व्यवस्था अनुसार सोमवार बिहीवारको कारोबारको राफसाफ हुनुपर्ने थियो ।
तर नेप्सेले उक्त दिन टिएमएसमा समस्या देखिएकाले राफसाफ रोक्न निर्देशन दिएको सिडिएससीले जारी गरेको सुचनामा उल्लेख छ । भदौ २५ गते नेप्सेमा रू. २ अर्ब २० करोड ९६ लाख ४४ हजार बराबरको शेयर कारोबार भएको थियो ।
टिएमएसमा समस्याका कारण करिब २ घण्टा प्रभावित भएको बजार अवधि थप गरेर पुनः सञ्चालन गरिएको थियो । त्यस दिन १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का गरिएको थियो । नेप्सेले अवधि थप गरी साझ ५ बजेसम्म बजार सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस