
काठमाडौं । कोरोना भाइरसका कारण सबैजसो व्यापार व्यवसाय धरायसी बने । अहिले निशेषज्ञा खुकुलो भएपछि अन्य व्यापार व्यवसाय पहिलेको लयमा फर्कन थालेपनि पुष्प व्यवसाय भने अझै लयमा आउन सकिरहेको छैन । पुष्प व्यवसायको कारोबार अझै पनि ठप्प छ । फूलखेती गर्ने किसान, कामदार र व्यवसायी उत्साहित छैनन् । यस क्षेत्रमा भने अपेक्षित सुधार आउन नसकेको व्यवसायी बताउँछन् ।
कुनैपनि औपचारिक कार्यक्रमहरु, विवाह, व्रतबन्ध, सभासम्मेलन र विभिन्न किसिमका पार्टीहरू प्रायः ठप्प छ । जसले गर्दा फूलको माग शुन्य छ । फूलको माग नभएपछि अहिले यस क्षेत्रले करोडौको नोक्सानी बेहोर्नु परेको छ । ‘यस्ता गतिविधिहरू नबढेसम्म यो व्यवसाय तंग्रिन सक्दैन,’ नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन् ।
सरकारले असोज १ गतेबाट व्यापार व्यवसाय, होटल, रेष्टुराँ खोल्ने निर्णय गरेसँगै पुष्प व्यवसायको कारोबार बढ्ने आशा पलाएको श्रेष्ठले बताए । उनले भने, ‘अब सबै क्षेत्र खुकुलो भएपछि पुष्प व्यवसाय लयमा आउँछ भन्ने आशामा छौँ ।’
उनका अनुसार करिब ६ अर्बको लगानी रहेको यो व्यवसाय देशभरका ४३ जिल्लामा फैलिएको छ । यस क्षेत्रमा ७ सय भन्दा बढी व्यवसायी रहेको र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ४० हजार मानिसले रोजगारी पाएका थिए ।
तर, महामारीको प्रभावका उत्पन्न विषम परिस्थितिका कारण समग्र पुष्प व्यवसायमा हाल ८० प्रतिशतसम्म कर्मचारी कटौती भएको छ । उनले भने, ‘हाम्रो क्षेत्रमा काम गर्ने ८० प्रतिशत कामदारलाई बेतलबी विदा दिएका छौँ । २० प्रतिशतलाई मात्र न्यूनतम पारिश्रमिक दिएर काम लगाइराखेको छौँ । व्यवसाय पहिलेकै अवस्था नफर्केसम्म बेतलवी विदामा बसेका कामदार फर्काउन सक्दैनौँ ।’
कोरोना महामारीले मानिसलाई धेरै कुरा सिकाएको छ । त्यसको एउटा राम्रो पाटो हो अनलाइन डेलिभरी । पुष्प व्यवसायमा पनि अब देशभर अनलाइन डेलिभरीको माध्यमबाट कारोबार शुरु गर्ने तयारी गरिरहेको छ । संघका अध्यक्ष कसजुले अब पुष्प कारोबार पनि देशभर अनलाइन डेलिभरी गर्ने तयारी गरिरहेको बताए । उनले भने, ‘हामीले अब अनलाइन मार्केटको तयारी गरिरहेका छौँ । चाडै नै देशभर डेलिभरी गर्नेछौँ ।’
प्रतिक्रिया दिनुहोस