aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एनआरएनए हेल्थ सम्मेलनः चेतनाको अभावमा बढ्दै महिलामा स्वास्थ्य समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
एनआरएनए हेल्थ सम्मेलनः चेतनाको अभावमा बढ्दै महिलामा स्वास्थ्य समस्या

काठमाडौं । गैर आवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार महिलाको स्वास्थ्य  र अवसर विषयक कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त भर्चुअल कार्यक्रममा महिला विशेषज्ञ, महिला अधिकारकर्मी लगायत एनआरएनएका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै एनआरएनए कोरियाकी सदस्य जुनु गुरुङले कोरियामा रोजगारीमा गएका महिलाहरु धेरै समस्यामा रहेको बताएका थिए ।

‘कोरिया आउने ८० प्रतिशत महिला कृषिमा क्षेत्रमा काम गर्न आउने गरेका छन् ।  कृषिको काम नेपालको जस्तै हो तर यहाँ व्यवसायीक हो । लामो समयसम्म काममा खट्नुपर्ने हुँदा नेपालमा काम गर्ने बानी नभएकाहरुलाई समस्या परेको छ’ गुरुङले भने ।

उनकाअनुसार ढाड दुख्ने लामो समयसम्म काम गर्दा अन्य समस्या देखिने गरेकाले महिलाहरु काम छाडेर भाग्ने, आत्महत्या गर्ने प्रवृति बढेको छ ।
समस्यामा परेका महिलाहरुलाई सहयोगका नाममा पुरुषहरुले यौन शोषण गर्ने प्रवृति समेत कोरियामा रहेको उले जानकारी दिए ।

यस्तो समस्या हुन नदिन नेपालबाट कोरिया उड्नुभन्दा अगाडी नै आफूले गर्ने काम र कोरियाको अबस्थाबारे बुझेर जानुपर्ने बताए । कार्यक्रममा बोल्दै एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बुले नेपाली महिलाहरुलाई किशोेरावस्थादेखि नै आफ्नो शारिरीक परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा जानकारी नहुँदा यसले लामो अबस्थासम्म असर पारिरहेको बताए ।

सानै उमेरमा गरिने बिबाह, अशिक्षा, कम उमेरमा गर्भधारण गर्दा पनि महिलाहरुमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुगिरहेको उनले बताए । नेपालजस्ता पुरुषप्रधान मुलुकमा महिलाहरुले केही काम गर्न सक्दैनन् भन्ने धारणाले गर्दा पनि महिलाहरुले आफूलाई कमजोर महशुस गर्ने हुँदा यसले पनि मानसिक असर पारिरहेको उनले बताए ।
  
डा. सुजिता श्रेष्ठले कार्यक्रममा बोल्दै विश्वमा प्रत्येक वर्ष १५ लाख स्तन क्यान्सरका विरामी थपिने गरेको बताए । नेपालमा पाठेघरपछि दोस्रो सबैभन्दा बढी स्तन क्यानसर हुने गरेको उनको भनाई छ ।

‘स्तन क्यान्सरबाट जोगिन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । स्तनमा गाँठाहरु देखिए । छालाको रंग तथा बनावटमा परिवर्तन आउने लगायत लक्षण देखिएमा तत्काल जाँच गराउनुपर्छ’ डा श्रेष्ठले भने ।

डा एलिजा श्रेष्ठले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समेत जोखिम रहेको बताए । डा श्रेष्ठकाअनुसार महिनावारी भइसकेपछि लामो समयसम्म पनि रगत बगिरहनु, यौनसम्मर्क गर्दा पटकपटक रगत बग्नु, गन्हाउने पानी बग्नु जस्ता लक्षणहरु पाठेघरको क्यान्सर हुँदा देखिन्छन् ।  

यस्ता लक्षणहरु देखिने बित्तिकै तत्काल अस्पताल जानुपर्ने तथा बेलाबेलामा पाठेघर परीक्षण गराउनुपर्ने उनको भनाई छ । ‘पाठेघरको मुखको क्यान्सरको पहिलो, दोस्रो, तेस्रो र चौथो चरण हुन्छ । पहिलो चरणमा सर्जरी गरेर पाठेघर डिम्बासय र वरपरको ग्रन्थी निकाल्छौँ । ग्रन्थीहरुमा पनि क्यान्सर देखियो भने रेडियो थेरापी गर्छौँ । अर्को भनेको किमो थेरापी पनि हो ’ डा श्रेष्ठले भने ।

नेपालमा पाठेघरको मुखको क्यान्सर भएकाहरु समयमा अस्पताल नपुग्ने हुँदा उपचारमा समस्या हुने गरेको उनले उल्लेख गरेका थिए । जनचेतनाको अभाव, लाज तथा आफ्नो आर्थिक समस्याका कारण पनि महिलाहरु अस्पताल जान नसकेको उहाँले उल्लेख गरे ।

रेस्मा प्रसाँइले सञ्चालन गरेको उक्त कार्यक्रममा साउदीबाट यस्मिन बेगम सइदले कार्यक्रमको समग्र विषयको बारेमा आफ्नो धारणा राखेकी थिइन। डा सुजिता श्रेष्ठ, डा एलिजा श्रेष्ठ, एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बु, कोरियाबाट जुनु गुरुङ लगायतले महिला स्वास्थ्यका बारेमा धारणा राखे उक्त कार्यक्रममा विश्वका विभिन्न मुलुकमा रहेका अन्य स्वास्थ्यकर्मीहरु, विज्ञ तथा विभिन्न पेशामा कार्यरत महिलाहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस