aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिक्रीका लागि ल्याएका २४ सय २० गाडी भन्सारमा, यस्तो रहेछ जाँचपास नगराउनुको कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
बिक्रीका लागि ल्याएका २४ सय २० गाडी भन्सारमा, यस्तो रहेछ जाँचपास नगराउनुको कारण

काठमाडौं । लकडाउन अघिदेखि व्यवसायीहरूले बिक्रीका लागि ल्याएका २४ सय २० वटा  गाडी भन्सार याडमा थुप्रिएर रहेका छन् । व्यवसायीहरूले गाडी आयात गरेपनि विभिन्न कारणले भन्सार जाँचपास नगराएर तीन भन्सार नाकामा २४ सयभन्दा बढी गाडीहरू थुप्रिएको हो । बिक्रीका लागि गाडी आयात हुने तीन प्रमुख नाका विरगञ्ज, भैरहवा र सुख्खा बन्दरगाह पर्सामा लकडाउन अघिदेखिका गाडी रहेको भन्सार कार्यालयहरूले जानकारी दिएका छन् । 

यो अवधिमा भैरहवा भन्सार कार्यालया १५ सय गाडी अड्किएको छ भने विरगञ्जमा ७७० र सुख्खा बन्दरगाह पर्सामा १५० वटा गाडी भन्सार याडमा जाँचपास नगरी राखिएको हो । लकडाउन अघिदेखि भन्सार याडमा रहेका गाडी विस्तारै व्यवसायीहरू छुटाउने क्रम बढेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराई बताए । ‘निषेधाज्ञापछि दैनिक गाडीहरू जाँचपास गराएर छुटाउने क्रम जारी छ,’ उनले भने ‘यहाँबाट विशेष गरी टाटा, मारुती÷सुजुकीजस्ता गाडीहरू नेपाल भित्र्न्छन् । 

‘भन्सार याडमा लकडाउन शुरु हुनुभन्दा पहिलादेखिका गाडीहरू छन्,’ उनले भने ‘भन्सारबाट गाडी छुटाउनका लागि सरकारलाई राजस्व बुझाउनु पर्छ ।’ उताबाट गाडी जे जसरी ल्याएपनि सरकारलाई तिर्नुपर्ने राजस्व नतिरी गाडीको भन्सार जाँचपास हुँदैन,’ उनले थपे ‘लकडाउनको बेलामा बजार सबै बन्द भएकोले व्यवसायी (गाडीका आधिकारिक बिक्रेता) गाडीको जाँचपास नगराएको हुनुसक्छ ।’ 

गाडी जाँचपास पछि लाग्ने राजस्व तिर्न गाडी बिक्री गर्दै आएका व्यवसायीले बैंकबाट कर्जा लिने गर्छन । कर्जा लिएको दिनदेखि ब्याज गणना हुन थाल्छ । सो कारण पनि व्यवसायीले यो अवधिमा गाडीको नबिक्ने भएका कारण नभित्र्याएको हुन सक्ने उनको अनुमान छ । उनका अनुसार व्यवसायीहरूले मागका आधारमा मात्रै गाडीको भन्सार जाँचपास गराउने गरेका गर्छन् । निधेषाज्ञा खुलेपछि भैरहवाबाट दैनिक २०÷२५ वटा गाडीले भन्सार नाकाबाट छुट्ने गरेको भट्टराईले बताए । 

विरगञ्ज भन्सार कार्यालयका प्रमुख गोपाल खत्रीले पनि निधेषाज्ञापछि दैनिक गाडी छुट्ने क्रम बढ्दै गएको बताए । ‘पछिल्लो समय दिनमै करिब एक सय गाडी विरगञ्ज भन्सार नाकाबाट छुट्ने गरेका छन्,’ उनले भने ‘यहाँ विशेष गरेर हुन्डाई, किया, फोर्डलगायतका गाडी नेपाल भित्र्ने गरेका छन् ।’ व्यापारीहरूले विभिन्न ब्राण्डका गाडीहरू जाँचपासका लागि भन्सार याडमा ल्याएर राख्ने गरेको बताए । कुन ब्राण्डका गाडी कति छन् भन्ने विषय भने गाडी जाँचपासका लागि आएपछि मात्र थाहा हुने खत्रीले बताए । 

प्रतिक्रिया दिनुहोस