aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
बागमती प्रदेश

यसै वर्ष निर्माण हुँदै १२ शीतभण्डार, किसानको उपज खेरा नजाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
यसै वर्ष निर्माण हुँदै १२  शीतभण्डार, किसानको उपज खेरा नजाने

काठमाडौं । कृषकले उत्पादन गरेको तरकारी खेदा जान नदिन तथा उत्पादित वस्तुको उचित मूल्य प्रदान गर्न बागमती प्रदेश सरकारले प्रदेशको विभिन्न १२ स्थानमा आधुनिक शीतभण्डारको निर्माण कार्य सुरु गरेको छ । बागमती प्रदेश अन्तर्गत भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १० वटा जिल्लामा आधुनिक शीतभण्डार निर्माण कार्य शुरु गरेको हो । प्रदेश सरकारले काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक अन्य सबै जिल्लामा शीतभण्डार स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता डा.शरणकुमार पाण्डेले जानकारी दिए ।

मन्त्रालयले यहि आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी शीतभण्डार निर्माण कार्य अघि बढाएको हो । उक्त शीतभण्डार निर्माणको लागि ६४करोड लागत अनुमान गरिएको छ । यसमा प्रदेश सरकारको ७० र स्थानीय सहकारीको ३० प्रतिशत लागत रहने छ ।  प्रदेश सरकारले आफ्नो प्रदेशमा कृषि उपजको सम्भाव्यता देखेर शीतभण्डार निर्माण कार्य अघि बढाएको मन्त्रालयका प्रवक्ता बताए । 

अहिले शीत भण्डार नहुँदा किसानहरूले उत्पादन गरेको कृषि उपज बिक्री नभएर बारीमा सड्ने, मूल्य नपाएर खेरा जाने, घाटा खाएर सस्तो मूल्यमा बेच्नु पर्ने वाध्यता छ । किसानको उत्पादनलाई खेरा जान नदिन तथा कृषकहरूलाई कृषि व्यवसायमा प्रवद्र्धन गर्न प्रदेश सरकारले शीतभण्डारको योजना अघि बढाएको हो । शीतभण्डार स्थापना भएपछि किसानले उत्पादन गरेको कृषि उपज बिग्रने खेरा जाने समस्या समाधान हुनेछ । 

धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, रामेछाप, सिन्धुलीमा शीत भण्डारण गृह निर्माण गर्न लागेको हो । चितवन र धादिङको शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने अन्य स्थानमा निर्माण कार्य अघि बढिरहेको प्रपक्ता पाण्डेले जानकारी दिए । 

‘नुवाकोटमा दुई वटा शीतभण्डार निर्माण हुँदैछ,’ उनले भने ‘ त्यहाँ अलि ठूलो ५ हजार मेट्रिक टनको शीतभण्डार निर्माण गर्न लागिएको हो भने धादिङ र चितवनको १५÷१५ सय मेट्रिक टनको शीतभण्डार हो । सिन्धुलीमा ५ सय मेट्रिक टन र अन्य केहीमा ३ सय मेट्रिक टनको पनि शीतभण्डार निर्माण गर्न लागिएको छ । 

कृषि कर्म गर्ने किसानहरुको मनोबल बढाउन तथा कृषि उपजमा पनि विशेष गरी तरकारी तथा फलफूल जन्य वस्तुको उत्पादन बढाइ उत्पादन नहुने बेमौसममा पनि यस्ता वस्तुको उपलब्धता गराइ राख्न प्रदेश सरकारले यो परियोजन अघि बढाएको हो  । 
प्रवक्ताका अनुसार देशभरिका ७ प्रदेश मध्ये हामीले कृषि क्षेत्रमा उदाहरणीय काम सुरु गरिएको छ र कृषि प्रधान देशका कृषकहरुलाई कृषि कर्ममा उत्साह बनाउने कामको रुपमा यसलाई अघि सारिएको हो ।

मन्त्रालय र स्थानीय तहरसहकारीको लागत साझेदारीमा शीतभण्डार निर्माण कार्य थालनी गरिएको पाण्डेले बताए । ‘मन्त्रालयको ७० प्रतिशत र स्थानीय तह तथा सहकारीको ३० प्रतिशत लागत सहभागीतामा निर्माण कार्य सुरु गरिएको हो,’ पाण्डेले भने । शीत भण्डार निर्माण कार्य बागमती प्रदेश सरकारको एउटा ‘ड्रिम प्रोजेक्ट’ भएको र प्रदेशमा आवश्यक २५ देखि ३० हजार मेट्रिक टनको शीतभण्डारका लागि अघिल्लो आर्थिक वर्षदेखि साढे १७ हजार मेट्रिक टन क्षमताको निर्माण कार्य सुरु गरेको हो ।

प्रदेश सरकारको ४५ करोड २८ लाख र स्थानीय सहकारी तथा तहको १९ करोड ४० लाख रुपैयाको लागतमा प्रदेशका सबै जिल्लामा निर्माण सम्पन्न भए पश्चात कुल १७ हजार ५ सय मेट्रिक टन क्षमताको शीतभण्डार बागमती प्रदेशमा रहने मन्त्रालयका प्रवक्ता पाण्डेले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस