
काठमाडौं । नेपाल फाइनान्सले यस अघि स्थगित गरेको विगत आठ आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा असोज १० गते गर्दैछ । यस अघि भदौ ११ गतेको लागि आव्हान गरेको उक्त संयुक्त सभा उपत्यकामा सरकारले जारी गरेको निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । कम्पनीले सभाका लागि यस अघिनै तय भएका प्रस्ताव सहित केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा सभा बोलाएको हो । सभा विहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले उक्त सभाबाट विगत आठ वर्षको वित्तीय विवरण एकै पटक पारित गर्नेछ । सभाले आर्थिक वर्ष ०६८/६९ देखि आर्थिक वर्ष ०७५/७६ सम्मको वासलत, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगाएतको विस्तृत विवरण छलफल गरि पारित गर्ने कार्यक्रम रहेको हो । साथै , विगत आठ वर्षको लेखापरिक्षकको पारिश्रमिक अनुमोदन, आर्थिक वर्ष ९७६/७७ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण, १७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते एक दिन बुक क्लोज गरेको छ । साधारण सभामा प्रस्ताव गरेको हकप्रद निष्कासन प्रकृया भने कम्पनीले अघि बढाईसकेको छ । कम्पनीले १ बराबर १ दशमलव २५ को अनुपातमा रू. १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर जारी गर्ने प्रकृया अघि बढाएको हो । उक्त हकप्रद शेयर विक्री गर्न गत फागुन २९ गतेनै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. २२ करोड ७ लाख ३१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले १२५ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस