
काठमाडौं । आइतवार लाभांश सार्वजनिक भएको युनिलिभर नेपालको शेयरमूल्यमा उच्च गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ को लागी प्रतिशेयर १०० रूपैयाँ लाभांश वितरण गर्ने निर्णय नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मार्फत सार्वजनिक गरेको हो । लाभांश सार्वजनिक भएकै दिन युनिलिभरको शेयरमूल्य प्रतिकित्ता १ हजार ३७९ रूपैयाँले घटेको हो ।
आइतवार सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीको स्थान युनिलिभरले कायम गरेको हो । यस दिन प्रतिशतका हिसावले ७ दशमलव ११ प्रतिशतले युनिलिभरको शेयरमूल्य घटेको हो । यस दिन १९ हजार १६ रूपैयाँमा खुलेको युनिलिभरको कारोबार अधिकतम १९ हजार ७४ र न्यूनतम १७ हजार ८५० मूल्यसम्म भएको छ । आइतवार कम्पनीको अन्तिम शेयरमूल्य १८ हजार २५ रूपैयाँ कायम भएको छ ।
कम्पनीले असोज ९ गते भर्चुअल माध्यमबाट सञ्चालक समितिको बैठक सम्पन्न गरी लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । गत वर्ष प्रतिशेयर ७७० रूपैयाँ लाभांश वितरण गरेको यस कम्पनीले यस वर्ष भने ६७० रूपैयाँ कम लाभांश प्रस्ताव गरेको हो ।
कम लाभांशका कारण विक्री चाप बढेपछि आइतवार कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ । कम्पनीले साधारण सभास सम्पन्न गरेको ४५ दिनभित्र उक्त लाभांश वितरण गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
प्रस्तावित लाभांश र आगामी साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा कात्तिक २७ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । हाल ९ करोड २१ लाख रूपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीले गत आर्थिक वर्षमा ३५ करोड ५४ लाख रूपैयाँ मात्र खुद नाफा गरेको छ ।
प्रतिक्रिया दिनुहोस