
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा ६ लाख ४४ हजार ६०७ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार मंगलवार साढे १ बजेसम्म यी आवेदकहरुबाट १ करोड ८० लाख ९ हजार ४७० कित्ताका लागि खरिद आवेदन परेको हो ।
जनरल इन्स्योरेन्सले असोज ११ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो । यस कम्पनीले कुल ३० लाख कित्तामध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।
जनरल इन्स्योरेन्सले यो आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । यो आईपीओ छिटो अवधि असोज १४ सम्म मात्र विक्रीमा रहनेछ । ढिलोमा असोज २५ गतेसम्म तोकिएपनि माग भन्दा बढी आवेदन प्राप्त भैसकेकाले छिटो अवधिभित्र मात्र आईपीओ विक्री खुला हुने भएको हो ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत घरबाट आवेदन दिन सकिनेछ ।
हाल संस्थापकतर्फको ७० करोड रूपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात एक अर्ब चुक्तापूँजी कायम हुनेछ । आईपीओ पश्चात यस कम्पनीमा सर्बसाधारण तर्फको ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू. २ दशमलव २५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस