aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्सको आईपीओमा तेस्रो दिनमै ७ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
जनरल इन्स्योरेन्सको आईपीओमा तेस्रो दिनमै ७ गुणा बढी आवेदन

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा माग भन्दा ७ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार मंगलवार साझ ५ बजेसम्म ६ लाख ८२ हजार ७७२ जना आवेदकबाट १ करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयर खरिदका लागि आवेदन परेको हो । जुन माग भन्दा ७ गुणा बढी हुन आउँछ । 

जनरल इन्स्योरेन्सले असोज ११ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो । यस कम्पनीले कुल ३० लाख कित्तामध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट पश्चात बाँकी रहेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

यो आईपीओमा आवेदन दिने असोज १४ गते बुधवार अन्तिम दिन रहेको छ । छिटो अवधिभित्रै माग भन्दा बढी आवेदन परिसकेकाले विक्री बन्द हुन लागेको विक्री प्रबन्धकको भनाई छ । यो आईपीओ छिटो अवधि असोज १४ र ढिलोमा असोज २५ गतेसम्म तोकिएको थियो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत घरबाट आवेदन दिन सकिनेछ । जनरल इन्स्योरेन्सले यो आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो ।

हाल संस्थापकतर्फको रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ । आईपीओ पश्चात यस कम्पनीमा सर्बसाधारण तर्फको ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू. २ दशमलव २५ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस