
काठमाडौं । माथिल्लो चमेलिया जलविद्युत आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । दार्चुलामा निर्माण सुरु भएको ४० मेगावाटको जलविद्युत आयोजना हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
उक्त जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशत लागनी गर्ने भएका छन् भने प्रवद्र्धक अपि पावर कम्पनीको ३० प्रतिशत (२ अर्ब २२ करोड रुपैयाँ) स्वपुँजी लगानी हुनेछ । आयोजनको लागि कुल ७ अर्ब ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ गरिएको छ । आयोजनाको संरचना निर्माणको काम सुरु भइसकेको छ ।
आयोजना निर्माण शुरु भएको ३ वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ । कम्पनीलाई अन्य आयोजना भन्दा यो आयोजना निर्माण गर्न सजिलो हुने भएको छ । सुरुङ निर्माण गर्न नपर्ने भएकोले यो आयोजना लक्षित समयमा सकिने विश्वास उत्पादक कम्पनीले लिएको हो ।
२ सय ५ मिटर हेड (उचाई) रहेको आयोजनाका लागि ३.२ मिटर ब्यास (डायमिटर) को करिब ६ किलोमिटर पाइपलाइन निर्माण हुनेछ । पाइपमार्फत पानी यही विद्युतगृहमा खसालिनेछ ।
आयोजना नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलियाभन्दा करिब १३ किलोमिटर माथि पर्छ । बलाँच सबस्सटेसन चालु अवस्थामा रहेकाले विद्युत जोड्न कुनै समस्या हुने छैन । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ ।
कम्पनीले आयोजनाबाट उत्पादित विद्युत बिक्रीबाट पहिलो वर्ष १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्नेछ । वार्षिक आम्दानीमा हरेक वर्ष ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्य वृद्धि हुने हुँदा आय पनि बढ्दै जाने देखिएको छ ।
अपि पावरले दार्चुलामा निर्माण गर्न लागेको माथिल्लो चमेलिया तेस्रो आयोजना हो ।कम्पनीले यसअघि ८.५ मेगावाटको नौगाड र ८ मेगावाटको माथिल्लो नौगाड आयोजनाको सफल निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । माथिल्लो चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ५६.५ मेगावाट पुग्नेछ ।
कम्पनीले उक्त आयोजना निर्माणको लागि लगानी जुटाउन हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । शेयर दुई चरणमा निष्काशन गर्ने तयारी कम्पनीले गरेको हो । कम्पनीले माथिल्लो नौगाड सम्पन्न भएपछि निर्माण उपकरणहरू माथिल्लो चमेलियामा सारेको छ ।
प्रतिक्रिया दिनुहोस