aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
विद्युतीय गाडी

‘विद्युतीय अन्तःशुल्क घट्यो, अब गाडीको मूल्य घट्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
‘विद्युतीय अन्तःशुल्क घट्यो, अब गाडीको मूल्य घट्छ’

काठमाडौं । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय गाडीको अन्तःशुल्कमा ४० देखि ८० प्रतिशतसम्म बढाएको थियो । विद्युतीय गाडीमा अन्तःशुल्क बढाएपछि सरकार उल्टो बाटो हिडेको भन्दै यसको चौतर्फी विरोध भएको भएपछि आर्थिक वर्षको पहिलो त्रैमासमा आएर सरकारले अन्तःशुल्क घटाएको छ । यसैबीच हिजो असोज १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले विद्युतीय सवारी साधनको अन्तःशुल्कमा ५० प्रतिशतले घटाएको हो । 

सरकारले अन्तःशुल्क घटाएसँग विद्युतीय गाडी बिक्रेताहरू खुशी भएका छन् । ‘सरकारले अन्तःशुल्कमा लगाएको कर ५० प्रतिशतले घटाएपछि अब मूल्य समायोजन गरेर गाडी बिक्री गर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘अब हामी भन्सार याडमा रहेका गाडी पनि नेपाल भित्र्याउँछौ र मूल्य समायोजन गरेर बिक्री शुरु गर्छौ,’ उनले भने । 

चालु आर्थिक वर्षको आर्थिक विधेयक आउनुअघिसम्म विद्युतीय गाडीमा अन्तशुल्क लगाइएको थिएन । यस्ता सवारी साधनले वातावरणमा कुनै असर नपार्ने भएकोले अन्तःशुल्क लगाइएको थिएन । तर, नयाँ आर्थिक ऐनमा अन्य सवारीजस्तै विद्युतीय सवारी साधनमा समेत ५० प्रतिशतसम्म अन्तःशुल्क निर्धारण गरेको छ । सरकारले किलोवाटको आधारमा  विद्युतीय गाडीको अन्तःशुल्क निर्धारण गरेको हो । 

आर्थिक विधेयकमार्फत विद्युतीय गाडीमा सरकारले क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क निर्धारण गरिएको छ । अहिले १०० किलोवाटसम्म क्षमता भएको विद्युतीय सवारीमा ४० प्रतिशत र त्योभन्दा माथि क्षमता भएका सवारी साधनमा ५० देखि ८० प्रतिशत अन्तःशुल्कको व्यवस्था गरेकोे थियो । अहिले विद्युतीय गाडीमा लाग्दै आएको अन्तशुल्क ५० प्रतिशतले घटाएको हो । 

प्रदुषण र वातावरण संरक्षण गर्ने भन्दै सरकारले यस अघि यस्ता सवारी साधनलाई प्रोत्साहन गर्ने जम्मा १० प्रतिशत भन्सार महसुल लगाएको थियो । चालु अपावमा सरकारले भन्सार महसुल ४ गुणाले बढाएर ४० प्रतिशत पुर्याएको थियो । सो दरलाई भने अहिले पनि यथावत राखिएको छ । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) भने एकल दर छ । 

सरकारले विदेशबाट आयात हुने सवारीसाधनमा भन्सार महशुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र सडक मर्मत शुल्क गरी ४ प्रकारका शुल्कहरू लगाउँदै आएको छ ।

अन्य देशले वातावरण स्वच्छताका विषयलाई मूल एजेन्डा बनाएर हिडिरहँदा नेपालमा भने विद्युतीय गाडीको अन्तशुल्क बढाउँदा सबै गाडी व्यापारी रिसाएका थिए भने उपभोक्ताले यस्ता गाडी चड्न नसक्ने अवस्थामा पुगेको थियो ।   
 

प्रतिक्रिया दिनुहोस