aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
संशोधन

विद्युतीय सवारी साधनमा नयाँ अन्तःशुल्क, किलोवाटमा कति शुल्क ? (शुल्क सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
विद्युतीय सवारी साधनमा नयाँ अन्तःशुल्क, किलोवाटमा कति शुल्क ? (शुल्क सहित)

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म अन्तःशुल्क घटाएको छ । सरकारले  ५० किलोवाटदेखि ३०० सय किलोवाटसम्मको विद्युतीय सवारी साधनमा कर घटाएको हो । गत बिहीबार असोज १५ गते बसेको मन्त्री परिषद्को बैठकले घटाएको अन्तःशुल्क हेर्दा कम किलोवाट क्षमता भएका गाडीमा बढी र बढी क्षमता भएको कार, जीप तथा भ्यानमा कम कर घटाएको देखिएको छ । 

राजस्व सचिव रामशरण पुडासैनी द्वारा हस्ताक्षरित राजपत्रमा उल्लेख गरे बमोजिम सरकारले ५० किलोवाट देखि १०० किलोवाटसम्मको विद्युतीय सवारी साधनमा ८० प्रतिशतले अन्तःशुल्कमा लाग्दै आएको कर घटाएर ६ प्रतिशतसम्म झारेको छ  ।यस अघि  अर्थात चालु आर्थिक वर्षको आर्थिक ऐनले १०० वाटसम्म कार, जीप तथा भ्यानमा ३० प्रतिशत अन्तःशुल्क लगाएको थियो ।  उक्त क्षमताको विद्युतीय सवारी साधनमा अब ६ प्रसिशतमात्रै अन्तःशुल्क लाग्ने भएको छ । 

अर्थात यदि कुनै ग्राहकले २० लाख रुपैयाँको विद्युतीय सवारी साधन खरिद गथ्र्यो भने उसले ६ लाख रुपैयाँ अन्तः शुल्क तिर्नुपथ्र्यो भने अब एक लाख २० हजार रुपैयाँमात्र तिरे पुग्ने भएको छ । यद्यपि भन्सार महसुल भने यथावत राखिएको छ । प्रदुषण र वातावरण संरक्षण गर्ने भन्दै सरकारले यस अघि यस्ता सवारी साधनलाई प्रोत्साहन गर्ने जम्मा १० प्रतिशत भन्सार महसुल लगाएको थियो । चालु अपावमा सरकारले भन्सार महसुल ४ गुणाले बढाएर ४० प्रतिशत पुर्याएको थियो । सो दरलाई भने अहिले पनि यथावत राखिएको छ । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) भने एकल दर छ । सोही अनुसार १३ प्रतिशत भ्याट तिर्नुपर्ने हुन्छ ।

त्यस्तै १०० देखि १५० किलोवाटसम्मको विद्युतीय सवारी साधनमा ७५ प्रतिशत अन्तःशुल्क घटाएको छ । उक्त क्षमताका सवारी साधनमा ४० प्रतिशत लाग्दै आएको अन्तःशुल्क अहिले घटाएर १० प्रतिशतमा झारिएको छ । त्यस्तै २०० देखि ३०० किलोवाटसम्मको कार, जीप र भ्यानमा भने सरकारले २५ प्रतिशतमात्र अन्तः शुल्क छुट दिएको छ । ६० प्रतिशत लाग्दै आएको अन्तः शुल्क अहिले ४५ प्रतिशतमा सीमित गरिएको छ । 

त्यसरी नै ३०० सय किलोवाटको कार,जीप तथा भ्यानमा लाग्दै आएको ७० प्रतिशत अन्तः शुल्क २५ प्रतिशत अर्थात १७.५ प्रतिशतले घटाएर ५२.५ प्रतिशत कायम राखिएको छ । त्यस्तै सोही किलोवाटको विद्युतीय सवारी साधनमा लाग्दै आएको ८० प्रतिशत अन्तः शुल्क पनि २५ प्रतिशतले घटाएर ६० प्रतिशत कायम गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

चौतर्फी विरोधपछि घटाइएको अन्तःशुल्कका विषयमा यस्ता सवारी साधन व्यापारीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले केही हदसम्म हाम्रो मागको सम्बोधन गरेका बताए भने  ज्योति ग्रुपका निर्देशक सौरव ज्योतिले सरकारले बढाउने बेलामा धेरै कर बढाएको र घटाउँदा थोरैमात्र घटाएको प्रतिक्रिया दिए ।

अध्यक्ष दुलालले भने ‘सरकारले अन्तः शुल्क घटाएको छ, अब हामी भन्सार याडमा रहेका गाडी ल्याएर मूल्य समायोजन गरेर बिक्री गछौं । यद्यपि सरकारले अहिले घटाएको यो करले भने आम उपभोक्तालाई केही राहत पुग्ने ज्योतिले बताए । 
 

प्रतिक्रिया दिनुहोस