aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा पहिलो दिन मागभन्दा २ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा पहिलो दिन मागभन्दा २ गुणा बढी आवेदन

काठमाडौं । बुधवारदेखि विक्रीमा आएको सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै मागभन्दा २ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले दिएको जानकारी अनुसार बुधवार साझ ५ बजेसम्म २ लाख ६५ हजार ६१६ जना आवेदकहरुबाट ६१ लाख ४४ हजार ९५० कित्ताको लािग आवेदन परेको हो । जुन माग भन्दा २ दशमलव २५ गुणा बढी हुन आउँछ ।

यस कम्पनीले असोज २१ गतेदेखि सर्वसाधारणका लागि रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो । कुल कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर भने सार्वजनिक निष्कासन गरिएको हो । 

यो शेयरमा आवेदन दिनका लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ६ गतेसम्मको मिति तय गरिएको भएपनि पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुनेछ । यो आईपीओमा खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । रू. १ अर्ब जारी पूँजी रहेको यस कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । आईपीओ खरिद गर्न चाहनेहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको माध्यमबाट घरबाटै पनि आवेदन दिन सकिने व्यवस्था छ । 

सानिमा जनरलको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बीबी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधार औषतभन्दा राम्रो रहेको संकेत गर्दछ । यस कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस