
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिना सकिन लाग्दा सकिन लाग्दा बल्ल ११ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । यी मध्य पनि दुई कम्पनीले गत वर्षको नभएर अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेका हुन । हालसम्म वाणिज्य बैंकतर्फ बैंक अफ काठमाडौं र माछापुच्छ्रै बैंकले मात्र लाभांश घोषणा गरेका छन् । बाँकी २५ वाणिज्य बैंकहरुको अवस्था हालसम्म अन्योल रहेको छ ।
यस्तै दुई बीमा कम्पनी र एक लघुवित्त कम्पनीको लाभांश अघिल्लो आर्थिक वर्षको रहेको छ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लागि र एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को लागि लाभांश वितरणको प्रस्ताव गरेका छन् । त्यस्तै नाडेप लघुवित्तले पनि अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को लागि लाभांश प्रस्ताव गरेको छ ।
नाडेपले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि असोज २८ गते वार्षिक साधारण सभा गर्दैछ । लाभांश घोषणा गर्ने ११ कम्पनीहरुमध्य धेरै जसो लघुवित्त कम्पनीहरु रहेका छन् । समता लघुवित्त वित्तीय संस्था ,फष्र्टमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आरएमडिसी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्थाले गत वर्षको लागि लाभांश वितरणको प्रस्ताव गरिसकेका हुन ।
युनिलिभर नेपाल र नेपाल ल्यूव आयल नेपाल पनि लाभांश घोषणा गर्ने ११ कम्पनी भित्रै रहेका छन् । लाभांश घोषणा गर्नेमध्य माछापुच्छ्रे बैंकले यो वर्ष सबैभन्दा पहिला लाभांश पारित गर्ने तयारी गरेको छ । माछापुच्छ्रे बैंकले कात्तिक ६ गते साधारण सभा बोलाएको छ । हालसम्म लाभांश घोषणा गर्नेमध्य सबैभन्दा बढी लाभांश आरएमडिसी लघुवित्त वित्तीय संस्थाको रहेको छ । यस कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यो वर्ष कोरोना संक्रमणको प्रभावका कारण समयमै लाभांश प्रस्ताव गर्न नसकेको कम्पनीहरुको भनाई छ । सिमित कर्मचारीको उपस्थितिमा मात्र कारोबार सञ्चालन गरिरहेको अवस्थामा समयमा वित्तीय तथ्याङक तयार गर्न नसक्नु र सञ्चालन समितिको बैठकका लागि पनि समस्या भएकाले लाभांश प्रस्तावमा ढिलाई भैरहेको बैंक तथा वित्तीय संस्थाहरुको भनाई छ । कम्पनीहरुले आर्थिक वर्ष सुरु भएको तीन महिनाभित्र वार्षिक लेखापरिक्षण कार्य सम्पन्न गरी ६ महिनाभित्र साधारण सभा गरिसक्नुपर्ने व्यवस्था छ ।
यो वर्ष हालसम्मको अवस्थालाई हेर्दा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले समयमै साधारण सभा गर्न सक्ने सम्भावना कम देखिन्छ । यद्यपी बीमा कम्पनीहरुमा कतिपय निर्जीवन बीमा कम्पनीहरुले समयमै वार्षिक साधारण सभा सम्पन्न गरे पनि जीवन बीमा कम्पनीहरुको हकमा भने अघिल्लो वर्षको वार्षिक साधारण सभा यो वर्ष गर्ने गरेका छन् । नेपालमा बिमाङ्कीय मूल्याङ्कन गर्न नसकिने र भारतमा गएर गराउनुपर्ने समस्याका कारण जीवन बीमा कम्पनीहरुको साधारण सभा एक वर्ष पुरानो हुने गरेको हो ।
प्रतिक्रिया दिनुहोस