
काठमाडौं । धितोपत्र बजारमा ६ कम्पनीहरुले लिलामी प्रकृयाबाट शेयर विक्री गर्न लागेका छन् । नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेशनल माइक्रोफाइनान्स, सिभिल बैंक, नेको इन्स्योरेन्स, नेपाल क्लियरिङ हाउस र सिभिल लघुवित्तले लिलामी प्रकृयाबाट शेयर विक्री गर्ने भएका हुन । ६ कम्पनीहरुमध्य सिभिल लघुवित्तले असोज २५ गतेदेखि विक्री खुला गर्दैछ भने बाँकीले विक्री खुला गरिसकेका छन् ।
सिभिल लघुवित्त वितरण हुन नसकेको संस्थापकतर्फको ११ हजार ६०८ र सर्वसाधारण तर्फको ८९ हजार ४५० कित्ता हकप्रद शेयर कात्तिक २ गतेसम्म लिलामीमा विक्री गर्न लागेको हो । दोस्रो बजारमा सिभिल लघुवित्तको सर्वसाधारण तर्फको शेयरमूल्य प्रतिकित्ता ७२४ रुपैयाँ रहेको छ ।
बजारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५ लाख कित्ता संस्थापक शेयर असोज २ गतेदेखि कात्तिक ६ गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको छ । बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो ।
प्रतिकित्ता न्युनतम मूल्य ११० रुपैयाँ तोकिएको एनसीसी बैंकको शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ । दोस्रो बजारमा बिहीवार एनसीसी बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ११६ रुपैयाँ रहेको छ ।
त्यस्तै , सिभिल बैंक लिमिटेडले असोज १६ गते संस्थापकतर्फको ८ लाख ६७ हजार ६०४ कित्ता शेयर असोज ३० गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको छ । सिभिलको यो शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकिएको छ । उक्त मूल्यलाई आधार मानेर न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि बोलकबोल गर्न सकिनेछ । सिभिलको संस्थापक शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ नै रहेको छ ।
धितोपत्र बजारमा हालसम्म सूचीकृत नभएको नेपाल क्लियरिङ हाउस लिमिटेडको संस्थापक शेयर असोज २० गतेदेखि कात्तिक २४ गतेसम्मका लागि लिलामीमा विक्री खुला भएको छ ।
कम्पनीले स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेडको नाममा रहेको २ लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकिएको छ । यो शेयर खरिदका लागि न्यूनतम ५० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
नेको इन्स्योरेन्स लिमिटेडले पनि प्रतिकित्ता ३९३ रुपैयाँ मूल्य तोकेर असोज २० गते कात्तिक ४ गतेसम्मका लागि १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता संस्थापक शेयर विक्री खुला गरेकोे छ । नेको इन्स्योरेन्सको शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता खरिदको माग गर्न सकिनेछ । दोस्रो बजारमा नेको इन्स्योरेन्सको प्रतिकित्ता शेयर मूल्य ८२० रुपैयाँ रहेको छ ।
दोस्रो बजारमा प्रतिकित्ता १ हजार ५५० रुपैयाँ रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख १० हजार कित्ता संस्थापक शेयर असोज २ गतेदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले न्यूनतम प्रतिकित्ता ७२५ रुपैयाँ मा उक्त शेयर विक्री खुला गरको हो ।
यो शेयर खरिदका लागि न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि कात्तिक २ गतेभित्र आवेदन दिनुपर्नेछ । सूचीकृत भएका संस्थापक शेयर पनि दोस्रो बजारमा सहजै खरिद विक्री गर्न अप्ठेरो रहेको अवस्थामा यी कम्पनीहरुले बोलकबोल मार्फत शेयर खरिद गर्ने वातावरण मिलाएका हुन । यो शेयर खरिदका लागि विद्यमान सम्बन्धीत कम्पनीका संस्थापक शेयरधनीहरुलाई विशेष प्राथमिकता दिईने कम्पनीहरुले जारी सुचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस