aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ असोज २०७७
सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । असोज २१ गतेदेखि विक्री खुला भएको सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (असोज २५ गते) अन्तिम दिन रहेको छ । यो आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुन लागेको हो । कम्पनीले छिटोमा असोज २५ र ढिलोमा कात्तिक ६ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो । 

यस कम्पनीले सर्वसाधारणका लागि रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर भने सार्वजनिक निष्कासन गरिएको हो । 

यस आईपीओमा शुक्रवारसम्म ७ लाख ४४ हजार ४९१ जनाबाट रू. १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार बराबरको १ करोड ६२ लाख ३६ हजार ५५० कित्ताको लागि आवेदन परिसकेको विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जानकारी दिएको छ । जुन मागभन्दा ५ दशमलव ९४ गुणा बढी हुन आउँछ । 

यो आईपीओमा खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । रू. १ अर्ब जारी पूँजी रहेको यस कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । आईपीओ खरिद गर्न चाहनेहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको माध्यमबाट घरबाटै पनि आवेदन दिन सकिने व्यवस्था छ । 

सानिमा जनरलको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बीबी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधार औषतभन्दा राम्रो रहेको संकेत गर्दछ । यस कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस