aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जनरल इन्स्योरेन्सको आईपीओ आज (सोमबार) सूचीकृत हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
जनरल इन्स्योरेन्सको आईपीओ आज (सोमबार) सूचीकृत हुने

 काठमाडौं । असोज २० गते बाँडफाँट भएको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ असोज २६ गते सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ । यस कम्पनीको आईपीओ सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा भने नेप्सेमा सूचीकृत हुनुपूर्वनै जम्मा भैसकेको छ । बाँडफाँट भएको एक सातामै यो कम्पीको शेयर कारोबार योग्य हुने भएको हो । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जनरल इन्स्योरेन्सको शेयर सूचीकरणका लागि गत बिहीवारनै नेप्सेमा प्रकृया अघि बढाएकाले सोमवार सूचीकरण सम्झौताका लागि बोलाएको जानकारी दिए । उनका अनुसार जनरल इन्स्योरेन्सको शेयर कारोबार मंगलवारदेखि सुरु हुनेछ । 

जनरल इन्स्योरेन्सको संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारण तर्फ रू. ३० करोडको शेयर स्वामित्व कायम भएको छ । कम्पनीले दुबै तर्फको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर नेप्सेमा सोमवार सूचीकृत गराउनेछ । कम्पनीले सर्वसाधारणका लागि रू. ३० करोड बराबरको शेयर बाँडफाँट गरेको हो । यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको बाँकी २७ लाख ३० हजार कित्ता भने सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव शून्य २ रहेको छ भने प्रतिशेयर आम्दानी रू. २ दशमलव २५ रहेको छ । प्रतिशेयर नेटवर्थको आधारमा दोस्रो बजारमा यस कम्पनीको मूल्य निर्धारण हुनेछ । नेप्सेले नेटवर्थको तीन गुणासम्म मूल्य निर्धारण गर्ने व्यवस्था भएको हुदाँ यस कम्पनीको पहिलो कारोबार रू. ३०० भन्दा माथीबाटै खुल्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस