aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लगानी गर्न खोज्दै हुनुहुन्छ ? पैसाको जोहो गर्नुहोस्, आउँदैछने यी १४ कम्पनीको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
लगानी गर्न खोज्दै हुनुहुन्छ ? पैसाको जोहो गर्नुहोस्, आउँदैछने यी १४ कम्पनीको आईपीओ

काठमाडौं । शेयर निष्कासन अनुमतिका लागि विभिन्न क्षेत्रका १४ कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले बोर्डबाट अनुमति पाएपछि शेयर निष्कासन गर्नेछन् । 

सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १४ कम्पनीले ३ अर्ब ८५ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८४ लाख ७३ हजार कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । शेयर निष्कासनका क्रममा रहेका कम्पनीमध्ये १० वटा जलविद्युत् समूह, ३ वटा अन्य समूह र एउटा मर्चेन्ट बैंकिङ समूहका कम्पनी हुन् । हाल शेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ । 

आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड (स्थानीय र सर्वसाधारण), विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), रुरु लघुजलविद्युत् परियोजना (स्थानीय बासिन्दा र सर्वसाधारण), शुभम् पावर लिमिटेड (सर्वसाधारण), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), मैलुङ खोला जलविद्युत् (सर्वसाधारण), ग्रिनलाइफ हाइड्रोपावर (स्थानीय बासिन्दा र सर्वसाधारण), सिँगटी हाइड्रो इनर्जी, मैलुङ खोला जलविद्युत् (सर्वसाधारण) र मध्यभोटेकोसी जलविद्युत् (स्थानीय बासिन्दा र सर्वसाधारण) छन् ।

त्यस्तै, शेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल र चन्द्रागिरि हिल्स् छन् । मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ । अन्य समूहअन्तर्गत रहेर शेयर निष्कासन गर्ने उल्लिखित तीन कम्पनीमध्ये आ-आफ्नो क्षेत्रमा सबै पहिलो कम्पनी हुन् । यसअघि ती क्षेत्रका कम्पनीले शेयर निष्कासन गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस