aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

साना गाडी पनि मारमा, ठूला गाडी ९० प्रतिशत ऋणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ असोज २०७७
साना गाडी पनि मारमा, ठूला गाडी ९० प्रतिशत ऋणमा

काठमाडौं । महामारीका कारण सबैभन्दा बढी मारमा परेको क्षेत्र यातायात अहिले सबैभन्दा बढी संकटमा परेको छ । हरेक दशैमा वर्षरीको खर्च उठाउने यातायात व्यवसाय अहिले दैनिक खर्च समेत ऋण खोजेर चलाउँछै छन । 

यस वर्षको दशैंमा ठूला सवारीका साधनहरुमध्ये जम्मा २५ प्रतिशत मात्र चलिरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य बताउँछन् । उनले भने, ‘विगतका वर्षहरुमा दशैंमा २० लाख यात्रुलाई उपत्यकाबाट बाहिर पुर्योउथ्यौं तर यस वर्ष २ लाख पनि यात्रु नपुग्ने भए ।’

हाल चरिरहेका यातायातहरुमा पनि ८ देखि १२ हजारसम्मको घाटा बेहोरिरहेको उनले बताए । उपत्यकाबाट बाहिरको कुनै पनि गन्तव्यमा एउटा बस पुगेर आउँदा ८ देखि १२ हजारसम्म घाटा हुने उनले गुनासो गरे । 

सरकारले सार्वजनिक सवारीका साधन चलाउने भने पनि यात्रा गर्ने यात्रु नै नभएका कारणले हाल ३ लाख सार्वजनिक यातायातमध्ये २५ प्रतिशत गाडी चलाउदा पनि यात्रुहरु नपाएको उनले बताए । विगतका वर्षमा लामो दुरीका सवारीका साधनहरुको अग्रीम टिकट बुकिङ खुलाउने गरिएको थियो उक्त अग्रीम टिकट खुलाउँदा पनि व्यवसायीहरुसँग भएका बसले यात्रु बकेर भ्याउदैन थिए अध्यक्ष कर्मचार्यले आर्थिकन्युज डटकमसँग भने । 

यस वर्षको यो महामारीका कारण धेरै यात्रुहरुले यात्रा नगर्ने वा महामारीमा संक्रमण बढिरहेकाले पनि यात्रुहरुको मुभमेन्ट कम भएका कारण अहिले सार्वजनिक यातायात क्षेत्र ठूलो मारमा परेको उनले गुनासो पोखे । उनले भने, २५ हजारभन्दा बढी टिकट काउन्टरमा बस्ने कर्मचारीहरुको रोजीरोटी खोसिएको छ । १० लाख सार्वजनिक यातायात क्षेत्रका कर्मचारी विचल्लीमा पर्ने अबस्था आइसक्यो । यसमा घाटाको के हिसाव गर्नु खर्बौ भइसक्यो ।’

हाल देशैभरी सार्वजनिक यातायातका ठूला सवारी साधनमात्र ३ लाखको हाराहारीमा छन भने ६० हजारको हाराहारीमा मालबहाक सवारी साधनहरु छन । करिब ९० प्रतिशत सार्वजनिक सवारीका साधनहरु ऋणमा रहेको र ऋणको किस्ता तिर्नलाई समेत व्यवसायीहरुसँग भएको अन्य सम्पत्ति बेच्न पर्ने अबस्था आएको अध्यक्ष कर्मचार्य बताउँछन् ।  उनले भने, ‘ऋण तिर्न त परै जाओस दैनिक सवारीका साधनको मर्मत खर्च पनि नउठ्ने व्यापारले गाडीको किस्ता कसरी तिर्ने ? बैंकलाई भनेका छौं व्यवसायी कस्तो र कसरी चलिरहेको छ तपाईंहरुलाई थाहा नै छ जहिले कमाई हुन्छ त्यस बेला मात्र किस्ता आउँछ ।’ 

काउन्टर खोलेर बसेका छन् तर टिकट काट्न एक जना पनि नआएपछि यातायात व्यवसायीहरुको न दशै भयो न व्यवसाय नै टिक्ने अबस्थामा रहयो उनले भने । यता साना सार्वजनिक सवारीका साधनको व्यवस्थापन उपत्यका बाहिर पठाउने व्यवस्थापन गर्ने मैतीदेवी टिकट काउन्टरका सञ्चालक चन्द्रप्रसाद गुँरागाई भने ठूला सवारीका साधनमा मात्र नभएर साना सवारीका साधनमा पनि यात्रा नभएको बताउँछन् । 

विगतका वर्षहरुमा दैनिक ६ सयको हाराहारीमा दशैंमा उपत्यका बाहिर उनको काउन्टरबाट मात्र टिकट काटेर जाने गरेको उनले बताए ।तर, यस वर्षभने ६– ७ जना पनि नभएकाृे उनलृे गुनासो गरे । 

उनले भने, विगतका वर्षमा दैनिक १३–१४ वटा साना गाडीहरु रिजर्भ गरेर पठाउँदा पनि भ्याइनभ्याइ हुन्थ्यो तर, यस पटक भने गाडी धनीहरुले गाडीको खर्च पनि नउठ्ने भन्दै गाडी कुदाउँन नै मानेका छैनन ।’ सरकारले आधा सिट र आधा भाडा भनेकाले पनि १५ जना यात्रु चढ्ने क्षमता भएको हायसमा ६–७ जना यात्रु बेकेर दैनिक खर्च पनि नउठ्ने उनले बताए । उनले भने, आधा यात्रुबाट आधा भाडा लिएर ड्राइभरको दैनिक भत्ता ३ हजार अनि खलासीको १२ सय यसबाट व्यवस्थापन खर्च १२ सय छुट्टयाउँदा बाँकी रहेको रकमले गाडीको दैनिक मोबिलिटीको खर्च पनि धान्दैन ।’

सरकारको निर्णय नै दुविधामा
असोज २६ गतेको मन्त्रिपरिषदको बैठकले नेपालीहरुको महान चाडपर्व शुरु भएको भन्दै सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने निर्णय गर्यो । बैंठकले सीट क्षमतानुसार नै यात्रु राख्ने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय गरेको चार दिन बितिसक्यो । तर, अहिले सरकारको यो निर्णय नै दुबिधामा परेको छ ।

सार्वजनिक यातायातले सीट क्षमतानुसार नै यात्रु राख्न थाले पनि भाडादर भने पुरानै लिइरहेको गुनासो आउन थालेको छ । राजधानीमा सञ्चालन हुने यातायातले उपत्यका बाहिरमात्र बढी भाडा लिन नपाइने भन्दै ५० प्रतिशत नै बढी भाडा लिइरहेका छन् । यात्रु प्रेमबहादुर थापा चक्रपथ चल्ने सिटी यातायातको बा२ख १२०४ नं. को सार्वजनिक यातायातका परिचालकले उपत्यका बाहिरमात्र बढी भाडा लिन नपाइने उपत्यकामा पाइन्छ भन्दै चार किमी यात्रा गर्दा पनि रु. २५ नै लिएको गुनासो गरे ।  

सीट क्षमतानुसार यात्रु राख्न र पुरानै भाडादरमा चार किमी यात्रा गर्दा रु. १४ नै भाडा लिन सरकारले निर्णय गरेको चार दिनसम्म पनि अनुगमन नहुँदा बढी भाडा लिइएको हो । यातायात व्यवस्था विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । मन्त्रिपरिषद्को गत असार २३ गतेको बैठकले सीट क्षमताको आधा यात्रु राखी २०७५ असोज ७ गतेदेखि कार्यान्वयनमा आएको भाडाको ५० प्रतिशत बढी लिन पाउने निर्णय भएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव सीट क्षमतानुसार यात्रु राखी पुरानै भाडादरमा सार्वजनिक यातायात चलाउनुपर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सञ्चारमाध्यमबाट सुने पनि लिखित जानकारी नपाएकाले कार्यान्वयन गर्न नसकिएको बताउँछन् । ५० प्रतिशतभन्दा पनि बढी भाडा लिने सवारीलाई भने दैनिक कारवाही भइरहेको महाशाखाले जनाएको छ । बुधबार उपत्यकामा मात्र ४२ सार्वजनिक यातायातलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुसाल सञ्चारमाध्यमबाट सीट अनुसार नै यात्रु राखी ५० प्रतिशत बढी भाडा लिन नपाइने निर्णय भएको भन्ने प्रचारप्रसार भए पनि लिखित जानकारी नआएकाले यस विषयमा केही भन्न नसकिने बताउँछन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न यातायातमा स्यानिटाइजरको व्यवस्था गरी सीट क्षमताको आधामात्र यात्रु राख्ने नियम लागू भएका बेलासमेत व्यवसायीले कार्यान्वयन गरेका थिएनन् । असोज २६ गते अघि पनि बढी भाडा लिने र सुरक्षा उपाय नअपनाउने सवारीलाई महाशाखाले कारवाही गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस