
काठमाडौं । पछिल्लो समय हकप्रद शेयर निष्कासनको क्रम घटेको छ । कम्पनीहरुको पुँजीबृद्धिको अभियान पुरा भएकाले पनि हकप्रद शेयर निष्कासनमा कमि आएको हो । यस अघि विगतका वर्षहरुमा सूचीकृत बैंक तथा वित्तीय, बीमा कम्पनीहरुले नियामक निकायहरुले तोके बमोजिमको चुक्तापूँजी कायम गर्न हकप्रदको सहारा लिएका थिए ।
पछिल्लो समय सात कम्पनीहरुले हकप्रद निष्कासन गर्ने तयारी गरेका छन् । नागरिक लगानी कोष सहित श्रीराम सुगर मिल्स, अरुणभ्याली हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी, ङादी ग्रुप , बरुण हाइड्रो र नेपाल फाइनान्स कम्पनीले हकप्रद शेयर निष्कासनको तयारी गरेका हुन । सात मध्य नेपाल फाइनान्सले बोर्डको स्वीकृति पाइसकेको छ । नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । यसका लागि कम्पनीले कात्तिक ६ गते बुक क्लोजको मिति समेत तय गरिसकेको छ ।
बाँकी ६ कम्पनीले भने नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति पर्खिरहेका छन् । आवेदन दिएका कम्पनीहरु मध्य श्रीराम सुगर मिल्सले सबैभन्दा बढी १ बराबर ३ को अनुपातमा हकप्रद निष्कासनको लागि अनुमति मागेको छ । यस कम्पनीले आजभन्दा तीन वर्षअघि २०७४ साल बैशाख २८ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।
कम्पनीको हकप्रद निष्कासनको स्वीकृति प्रकृया हालपनि प्राथमिक चरणमै रहको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार कम्पनीले हकप्रद निष्कासनका लागि पुरा गर्नुपर्ने मापदण्ड अनुसारका काजगपत्र बुझाई नसकेकाले लामो समयदेखि स्वीकृति पाउन नसकेको हो । श्रीराम सुगर मिल्सले तीन सय प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति मागेको हो । श्रीराम सुगर मिल हाल बन्द रहेको छ । तर, धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि दिएको आवेदन भने बोर्डमा नै पेन्डिङ रहेको छ । बोर्डले उक्त हकप्रदको अनुमति पनि दिएको छैन रद्द पनि गरेको छैन ।
लामो समयदेखि हकप्रद शेयर निष्कासन गर्ने अनुमतिको पर्खाइमा ङादी ग्रुप पावर र बरुण हाइड्रो पनि रहेको छन् । ङादीले २०७५ साल पुस २३ गते ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डसँग अनुमति मागेको थियो । त्यस्तै बरुण हाइड्रोले शतप्रतिशत हकप्रद विक्रीको अनुमति माग्दै २०७५ साल जेठ २२ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डले जलविद्युत कम्पनीहरुले विद्युत नियमन आयोगको स्वीकृति पश्चात मात्र बोर्डमा पेश भएको निवेदन स्वीकृतिको प्रकृया अघि बढ्ने जानकारी दिएको छ ।
बोर्डले २०७६ जेठ ७ गते विद्युत नियमन आयोगको पूर्व स्वीकृति पेश गर्न ङादी र बरुण हाइड्रोलाई भने पनि हालसम्म यी दुवै कम्पनीले विद्युत नियमन आयोगको स्वीकृति पाएको कागजात बोर्डमा पेश गरेका छैन् ।
बोर्डका अनुसार हाइड्रोइले क्ट्रिसिटी र नागरिक लगानी कोषको हकप्रद स्वीकृतिको प्रकृया अन्तिम चरणमा पुगेको छ । हाइड्रो इलेक्ट्रिसिटीले २०७६ साल असार ३१ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको थियो भने नागरिक लगानीकोषले २०७७ भदौ २२ गते १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद विक्री गर्न अनुमति मागेको हो । यी वाहेक अरुणभ्याली हाइड्रोले भने असोज २१ गते शतप्रतिशत हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवदेन दिएको छ ।
प्रतिक्रिया दिनुहोस