
काठमाडौं । जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको सर्वसाधारणका लागि शेयर निष्कासन (आईपीओ) आजबाट हुने भएको छ । यी दुबै आयोजनाको औपचारीक सुभारम्भ शुक्रबार बिहान ९ बजे ऊर्जामन्त्रायबाट हुने भएको छ ।
यसको आवेदन सुरुवात सभामुख कृष्णबहादुर महरा र ऊर्जा मन्त्री वर्षामान पुनले आवेदन दिएर सुरुवात गर्ने भएका छन् । यी दुबै आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले बनाउन लागेको आकर्षक मध्येमा हुन् ।
दुबै आयोजनाले आजैबाट सर्वसाधारणबाट सेयर आवेदन माग गरेका छन् । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि शेयरको बिक्री खुला गर्ने छन् । छिटोमा १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई शेयर बिक्री हुने गरी उल्लेख छ ।
सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ । दरखास्तका साथ प्रति शेयर एक सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ ।
यो आयोजनको जम्मा पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो आयोजनाले उक्त पुँजीको १५ प्रतिशतको मात्रै शेयर आवेदन माग गरेको छ । यसको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत कर्मचारीलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयरको आइपीओ जारी गरेको हो ।
यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष हो भने सहायकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबी क्यापिटल लिमिटेड हो ।
रसुवागढी पनि एक सय रुपैयाँकै शेयरलाई न्युनतम १० देखि अधिकतम ५ हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ । यो जलविद्युत् आयोजनको ६ अर्ब ८४ करोड पुँजीमध्ये १५ प्रतिशतको दरले १ करोड २ लाख ६३ हजार १५० कित्ताको शेयर निष्कासन गरेको हो ।
यसमध्ये ४ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरको आईपीओ निष्कासन गरेको हो । यो आयोजनाले १११ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ ।
यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो भने सहायक कम्पनीमाा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस