aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जसले स्वदेशमै सुन फलाए !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ कार्तिक २०७७
जसले स्वदेशमै सुन फलाए !

नेपालीमा एउटा भनाई छ– मेहनत गरे माटो मै सुन फलाउन सकिन्छ । हो, यही भनाई चरितार्थ गर्दैछन् स्याङ्जाको गल्याङ नगरपालिका ९ साङलियाका युवा दिपक राना मगर । जसले बाझो जमीन भाडामा लिएर अदुवा खेती शुरु गरे । यसभन्दा पहिला राना ५ वर्ष विदेश बसेर फर्केका रानाले करिब २५ रोपनी जग्गामा अदुवा खेती गरेका छन् । २ वर्ष अघि शुरु गरेको यो खेतीबाट वार्षिक २५ लाखसम्म आम्दानी गर्छन् । 

स्वदेशमै एउटा छुट्टै पहिचान स्थापना गरि सफल व्यवसायी बनेकोमा आफूलाइ निकै खुशी लागेको उनी सुनाउँछन् । रानाले भने, “मेहनत गर्ने हो भने सानो लगानीबाट पनि राम्रो मुनाफा पाउन सकिने प्रशस्त सम्भावनाहरु छन् । ” उनले थपे, “मैले २ वर्ष अघि अरुको जमिन भाडामा लिएर ५ लाख लगानीमा शुरु गरे । अहिले वार्षिक २५ लाख जति आम्दानी हुन्छ । ” 

५ वर्षको विदेश बसाइले केहि उपलब्ध गर्न नसकेको सुनाउँदै उनले भने, “विदेशमा पनि सोचेजस्तो कमाइ भएन । धेरै दुःख पाए । स्वदेशमै केहि गछ भनेर फर्किए । गाउँमै अदुवा खेती शुरु गरे । अहिले आफूले गरेको खेतीबाट आम्दानी हुन थालेपछि म उत्साहित छु । ”  स्थानीय सरकार र सम्बन्धित निकायबाट उचित बजार व्यवस्थापन गर्न सके गल्याङ नगरपालिका अदुवा खेतीमा आत्मनिर्भर हुने निश्चित रहेको मगरको भनाई छ । 

नेपालमा पछिल्लो समय विदेशबाट फर्केर धेरै युवाहरु कृषि व्यवसायमा लागेको पाइन्छ । देशभर कृषि व्यावसायप्रति सकारात्मक धारणाको विकास पनि भइरहेको छ । स्वदेशमा बसेर केही हुँदैन भन्ने मान्यताविरूद्ध यो एउटा शुभ संकेत हो । 

पहिले रहरैरहरमा विदेश जाने, अनेकौँ दुःख–हन्डर खाने र पछि नेपालमै फर्केर केही गर्न चाहनेहरुको संख्या बढ्दो छ । व्यवसाय राम्रो फस्टाइरहे पनि यहाँको उत्पादनले यहीँ पर्याप्त हुन भने सकिरहेको छैन । केही वर्षयता कृषि व्यावसायतर्फ युवाहरुको आकर्षण बढे पनि  प्राविधिक ज्ञानको कमिले हुने कठिनाइ पनि विद्यमान छ । 

कतिपयलाई प्राविधिक समस्याले गर्दा यो व्यवसाय उपलब्धिमूलक बन्न सकिरहेको छैन । तर, शिक्षित जनशक्तिहरुको पनि यो व्यवसायमा आकर्षण बढ्नु खुसीको विषय हो । मेहनत, धैर्य, आत्मविश्वास र लगानी गर्न सक्ने युवा उद्यमीलाई रोजगार गन्तव्यका रुपमा विदेशमा गएर रगत र पसिना बगाउनु आवश्यक छैन । मेहनत गरे स्वदेशमै सुन फलाउन सकिन्छ ।  
 

प्रतिक्रिया दिनुहोस