aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
बीमा शुल्क

कोरोनामा पनि बीमा व्यवसाय फस्टायो, ३८ कम्पनीले ४० अर्ब कमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
कोरोनामा पनि बीमा व्यवसाय फस्टायो, ३८ कम्पनीले ४० अर्ब कमाए

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ३९ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कोभिड १९ कै बीच नेपालमा सञ्चालित  १९ जीवन तथा १९ निर्जीवन बीमा कम्पनीहरूले व्यवसाय बढाएर सो बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । 

जीवन बीमा व्यवसायतर्फ ३२ अर्ब ३२ करोड र निर्जीवन बीमा तर्फ ७ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन भएको हो । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुबाट सो बराबरको बीमा शुल्क संकलन गरेको हो ।

बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमा नेपाल लाइफको मात्रै २७.८८ प्रतिशत योगदान रहेको छ । नेपाल लाइफले मात्रै साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा ९ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । एलआईसी नेपालले ५ अर्ब ५ करोड, राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ३५ करोड नेशनल लाइफले २ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् । 
 

पुरानालाई उछिन्दै नयाँ बीमा कम्पनी

नयाँ बीमा कम्पनी युनियन लाइफले पुराना एशियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, सूर्या लाइफ र गुराँस लाइफको भन्दा बढी बीमाशुल्क संकलन गरेको छ । युनियन लाइफले तीन महिनाको अवधिमा १ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

एशियन लाइफ, मेट लाइफ, प्राइम लाइफले पनि यस अवधिमा एक अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । गुराँस लाइफ, सुर्या, सिटिजन लाइफ, ज्योति लाइफ, आईएमई लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्सको बीमा शुल्क ५० करोडभन्दा माथि छ भने सन नेपाल लाइफ, सानिमा लाइफ, प्रभु लाइफ तथा महालक्ष्मीको बीमा शुल्क क्रमशः ४८, ४३, ३५, २५ तथा २५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवनले कति गरे बीमा शुल्क आर्जन ?

चालू आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरूबाट कुल ७ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेका हुन् । 

निर्जीवन बीमा कम्पनीहरु तर्फ सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेको छ । बीमा समितिको तथ्यांक अनुसार सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले ९० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले आर्जन गरेको बीमा शुल्क निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्कको ११.८७ प्रतिशत हो । 

सो अवधिमा सगरमाथा इन्स्योरेन्सले ७३ करोड अर्थात कुल बीमाशुल्कको ९.६३ प्रतिशत बीमाशुल्क आर्जन गरेको छ । यस्तै नेको इन्स्योरेन्सले ६८ करोड, सिद्धार्थ इन्स्योरेन्सले ६२ करोड, एनएलजी इन्स्योरेन्सले ५६ करोड र प्रिमियर इन्स्योरेन्सले ४५ करोड रुपैयाँ कुल बीम शुल्क आर्जन गरेको छ ।

नयाँ संचालनमा आएका अजोड इन्स्योरेन्सले ३३ करोड रुपैयाँ कुल बीमा शुल्क कमाएको छ । यो पुरानो संचालनमा रहेका नेपाल इन्स्योरेन्स, ओरेन्टल इन्स्योरेन्स, पु्रडेन्सियल, नेशनस एभरेष्ट, युनाइटेड र हिमालयन जनरल इन्स्यारेन्सको भन्दा बढी हो । सबै भन्दा कम सानिमा जनरल इन्स्यारेन्सले १२ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ । कम बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीमा दोस्रो कम बीमा शुल्क (१८ करोड) आर्जन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस