
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको ४७ प्रतिशत हकप्रद शेयर कात्तिक १४ गते (शुक्रबार) देखि विक्री खुला हुने भएको छ । अपिले १ बराबर शून्य दशमलव ४७ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गर्न लागेको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत फागुन १२ गतेनै यो हकप्रद विक्री गर्न स्वीकृति दिएको थियो । बोर्डंले वित्तीय लगानीको सम्झौता भएपश्चात मात्र हकप्रद निष्कासन गर्ने शर्तमा अपिलाई हकप्रद निष्कासनको लागि स्वीकृति दिएको थियो । अपिले बोर्डको शर्त अनुसार गत असोज ११ गते ५ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी गर्ने गरी ६ संस्थाहरुसँग सम्झौता गरेको छ ।
अपिले ४७ प्रतिशत हकप्रद र साधारण सभा प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । अपिको यो हकप्रदलाई इक्रा नेपालले औषतभन्दा तलको आधार संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यो हकप्रद विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
विक्री प्रबन्धकसँगै अपि पावर कम्पनीको थापाथली कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, बीरगञ्ज, पोखरा , बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेतका साथै ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु गोकुेलेश्वर, नौंगाड, खलंगा र बैतडीबाट आवेदन दिन सकिनेछ । त्यस्तै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखाकार्यलय र सिडिएससीको मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
अपिले तेस्रो जलविद्युत आयोजनको रुपमा रहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल अपिको चुक्तापूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ । सोहि चुक्तापूँजीको आधारमा अपिले हकप्रद विक्री गर्न लागेको हो ।
यस कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । हकप्रद पश्चात अपिको चुक्तापूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । यस कम्पनीले यस अघि दुई आयोजनाहरु निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ ।
अपिले दार्चुला जिल्लामा रहेको ८ दशमलव ५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट २०७२ भदौ २ गतेदेखि र ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाबाट २०७६ साल कात्तिक १३ गतेदेखि विद्युत उत्पादन गर्दै आएको हो । अपिले दार्चुला जिल्लामै तेस्रो आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस