
काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आइतबार(आज ) अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ भोलि (कात्तिक १७ गते) बुकक्लोज हुने छ ।
बैंकले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने गरी १६ औँ वार्षिक साधारण सभा डाकेको छ । सो लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २८ गते, आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११।०० बजे साधारणसभा बोलाएको हो ।
यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन् । सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३=६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
विश्वभर फैलिएको कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र शेयरधनीहरू सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको छ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ । बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस