
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनुपूर्वनै एसजीआई स्टक संकेतबाट हितग्राही खातामा जम्मा भएको हो । यो आईपीओ हितग्राही खातामा जम्मा भएपनि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात मात्र कारोबार गर्न पाईनेछ । यसै साताभित्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गराउने तयारी कम्पनीको छ ।
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन गरी असोज ३० गते बाँडफाँट गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ३० लाख कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ ।
सार्वजनिक निष्कासन गरिएको २७ लाख ३० हजार कित्ता शेयर खरिदका लागि ८ लाख ६६ हजार ९०५ जनाको आवेदन परेको थियो । यी मध्य ३ हजार ३६० जनाको रितपूर्वक आवेदन नभएकाले रद्ध गरिएको थियो । रितपूर्वक आवेदन दिने ८ लाख ६३ हजार ५४५ जना आवेदकहरुलाई गोलप्रथाद्वारा शेयर बाँडफाँट गर्दा २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले शेयर हात पारेका थिए । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुगेको छ ।
यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनआईसी एशिया क्यापिटलले निभाएको छ । आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो । यस कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ । प्रतिशेयर नेटवर्थको आधारमा दोस्रो बजारमा मूल्य निर्धारण हुने हुदाँ कम्पनीको पहिलो कारोबार रू. ३०० माथिबाटै हुने देखिन्छ ।
सानिमा जनरल इन्स्योरेन्सले पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०३.७३ रुपैयाँ र अधिकतम ३११.१९ रुपैयाँ अधिकतम कारोबार रेञ्ज पाउनेछ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य (प्रतिशेयर नेटवर्थ)देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।
कम्पनीले सार्वजनिक निष्काशनका बखत प्रकाशन गरेको आह्वान पत्रमा आर्थिक वर्ष २०७५र७६ मा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.७३ रुपैयाँ रहेको छ। यसअनुसार नै नेटवर्थको तीन गुणासम्म अर्थात ३११.१९ रुपैयाँसम्मको कारोबार रेञ्ज प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस