aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लाभांश प्रस्ताव सहित अपि पावरको साधारण सभा मंसिर ८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ कार्तिक २०७७
लाभांश प्रस्ताव सहित अपि पावरको साधारण सभा मंसिर ८ गते

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा मंसिर ८ गते बोलाएको छ । अपिले आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ को १६ औं र १७ औं वार्षिक साधारण सभा संयुक्त रूपमा बोलाएको हो । यस अघि अपिले ५ प्रतिशत बोनस शेयर र हकप्रद शेयरको प्रस्ताव सहित चैत ७ गतेका लागि आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा आव्हान गरेको थियो । कोरोना महामारीका कारण उक्त सभा स्थगित भएको थियो । 

अपिले आर्थिक वर्ष २०७५/७६ का लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७६÷७७ को लागि ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ८६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । यस अघि कम्पनीले ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ९१ को अनुपातमा दोस्रो चरणमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । 

अपिले कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । गत आर्थिक वर्ष २०७६÷७७ को लाभांश यो हकप्रद शेयरधनीहरुले भने नपाउने कम्पनीले प्रष्ट पारेको छ । ५ प्रतिशत बोनस शेयर प्राप्त गर्ने शेयरधनीहरुले भने ९ प्रतिशत बोनस शेयर प्राप्त गर्न सक्नेछन् । आर्थिक वर्ष २०७५÷७६ को १६ औं वार्षिक साधारण सभाका लागि अपिले चैत १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त वर्षको लाभांश प्राप्त गर्न सक्नेछन् । 

आर्थिक वर्ष २०७६/७७ को १७ औं वार्षिक साधारण सभाका लागि अपिले मंसिर १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । मंसिर १ गतेभन्दा अघिल्लो कारोबार कात्तिक २७ गते हुने हुदाँ उक्त दिनसम्म कायम शेयरधनीहरुले त्यस वर्षको लाभांश प्राप्त गर्न सक्नेछन् ।

कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ । संस्थाको प्रधान कार्यालय,ट्रेड टावर, थापाथली , काठमाडौंबाट भर्चुअल माध्यमबाट सभा सञ्चालन हुने जानकारी दिदैं कम्पनीले शेयरधनीहरुलाई भर्चुअल माध्यमबाटै उपस्थित हुन अनुरोध गरेको छ । सभा विहान ११ बजेदेखि सुरु हुनेछ । सभाले लाभांश सहित दुवै आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसँगै १ महिला तथा स्वतन्त्र समेत हुनेगरी पाँच जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ ।

अपिले पहिलो र दोस्रो चरणमा निष्कासन गर्ने हकप्रद शेयरबाट संकलित रकम तेस्रो जलविद्युत आयोजनको रुपमा रहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप लगानी गर्नेछ । हाल अपिको चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाख रहेको छ । ४७ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ७७ लाख पुग्नेछ । अपिको अधिकृत पूँजी रू. ५ अर्ब र जारी पूँजी रू. ४ अर्ब रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस