aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बट्टाई पालनमा युवा आकर्षित

  • रासस
    रासस
  • सोमबार, १७ कार्तिक २०७७
बट्टाई पालनमा युवा आकर्षित

टीकापुर । जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहनु भएको हो । 

बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उनले बताए ।  ‘‘पाँच वर्ष जापान बसेर फर्किएँ । अहिले स्वदेशमै केही गरौँ भनी बट्टाई पाल्न थालेको छु’’, उनी भन्छन्, बिन्तीरामको खोरमा ५०० वटा बट्टाई रहेका छन् ।

बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ । सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हुँदा सहजरुपमा पालन गर्न सकिने भएकाले बट्टाईपालन गर्न थालेको उनी बताउँछन् ।  ‘‘चरा चिसो मौसममा बढी बिक्री हुने रहेछ । घरमै खानका लागि किन्नेहरु धेरै आउँछन्’’, बिन्तीराम भन्छन्, ‘‘बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ ।’’

बट्टाईपालनका लागि थोरै लगानीबाट शुरु गर्न सकिने र चरा डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाईपालनमा लागेको अर्का युवा टीकापुर–१ का बलराम भगोरियाले बताए । ‘‘अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ’’, भगोरियाले भने, ‘‘अहिले व्यावसायिकरुपमा पाल्न थालेको छु ।’’

एउटा बट्टाई रु। २०० मा र अण्डा प्रतिगोटा रु। १० मा बिक्री हुने गरेको छ । लम्की चुहाका रमेश चौधरीले गत वर्षबाट बट्टाईपालन शुरु गर्नुभएको हो । उनले यसबाट एक वर्षमा तीन लाख आम्दानी भएको बताए । ‘‘पालेको डेढ महिनादेखि बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु धेरै आउँछन्’’, चौधरीले भने, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गरिरहेको छु ।’’ 

कृषिलाई पेशा बनाउन थालेका युवा स्थानीय सरकारले व्यावसायिकरुपमा कृषि, पशुपालन गर्नेलाई अनुदान, प्राविधिक ज्ञानजस्ता कुरामा सघाउन आवश्यक रहेको बताउँछन् । टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदी किसानले माग गरे स्थानीय सरकारले यस किसिमका योजना ल्याउन सक्ने बताए । 

प्रतिक्रिया दिनुहोस