
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको ५ दशमलव २५ प्रतिशत बोनस शेयर पछिको मूल्य बिहीबार तोकेको हो । नेप्सेले बोनस पछिको मूल्य प्रतिकित्ता ५७६ दशमलव ७२ रुपैयाँ तोकेको हो । कम्पनीको बुधबार कायम अन्तिम मूल्य प्रतिकित्ता ६०७ रुपैयाँ को आधारमा नेप्सेले मूल्य समायोजन गरेको जानकारी दिएको छ ।
कम्पनीले ५ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न मंसिर ४ गते १० औं वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभाका लागि कम्पनीले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । यसर्थ लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु योग्य भएका छन् ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लागि चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गरिसकेकाले उक्त हकप्रद पश्चात चुक्तापूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएकाले सो पूँजीको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
साथै उक्त बोनसमा लाग्ने कर वापतको रकम नगद लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव समेत कम्पनीले सभाका लागि तय गरेको छ । लाभांश सँगै सभाले संस्थापकबाट ५ जना र सर्वसाधारणबाट १ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस