
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक २१ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा गत वर्षभन्दा यस वर्ष ६२ दशमलव ४३ प्रतिशत बढी भएको छ । गत वर्ष पहिलो त्रैमासमा १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिमा ३ करोड ७३ हजार रुपैयाँ खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत वर्ष ३ करोड ७५ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड ४९ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । यस वर्ष कम्पनीले ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत बर्षको भन्दा यस वर्ष कुल बीमाशुल्क आर्जन रकम ८९ प्रतिशत वृद्धि भएको हो ।
गत वर्ष यसै अवधिमा कम्पनीले २५ करोड ४१ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले गत भदौमा सर्वसाधारणलाई आईपीओ विक्री गरी चुक्तापूँजी बढाएको हो । कम्पनीले जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँभन्दा बढी सञ्चित गरेको छ ।
चालू आवको पहिलो त्रैमासमा जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रु पैयाँभन्दा बढी जम्मा भएको छ । सोही अवधिमा कम्पनीले १२ जनालाई ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४ जनालाई ४७ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको हो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव ७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०४ दशमलव ७५ र प्रतिशेयर नेटवर्थ १०९ दशमलव १५ रुपैयाँ रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस