
काठमाडौं । धितोपत्र दोस्रो बजारमा यो साता चार कम्पनीको २ करोड ११ लाख ६९ हजार ८१ दशमलव ७५ कित्ता शेयर थपिएको छ । यो साता बजारमा नयाँ कम्पनीको रुपमा सानिमा जनरल इन्स्योरेन्सको शेयर सूचीकृत भएको हो भने गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद शेयरसँगै हिमालयन जनरल इन्स्योरेन्स र तिनाउँ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो ।
हिमालयन जनरल इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर वापतको ४ लाख १० हजार ८८० कित्ता शेयर कात्तिक १६ गते सूचीकृत भएको हो । कम्पनीले गत असार २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । गुराँस लाइफले शतप्रतिशत हकप्रद शेयर वापतको ९३ लाख ८५ हजार २०० कित्ता शेयर कात्तिक १७ गते र सोहि दिन तिनाउ मिसन डेभलपमेण्ट बैंकले १२ प्रतिशत बोनस शेयर वापतको १३ लाख ७३ हजार १ दशमलव ७५ कित्ता शेयर सूचीकृत गराएको हो ।
असोज २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री गरी असोज ३० गते बाँडफाँट गरेको आईपीओ कात्तिक १८ गते सूचीकृत गराएको हो । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको कुल १ करोड कित्ता शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया दिनुहोस