काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने मिति मंसिर ३ गते हुने भएको छ । कात्तिक २७ गतेबाट सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओको निष्काशन मिति परिवर्तन भएको हो। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले निष्काशन मिति परिवर्तन गरेको हो।
कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाका स्थानियको लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । यस मध्य पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि ४ लाख २० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर विक्री खुला गर्नेछ ।
यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजारकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।
यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६÷७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ८५ दशमलव ८२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस