
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत वर्षभन्दा यस वर्ष १९५ दशमलव ९६ प्रतिशत बढी नाफा गरेको छ । कम्पनीले कात्तिक २६ गते चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. १० करोड ६४ लाख १ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिमा रू. ३ करोड ५९ लाख ५१ हजार थियो ।
यस वर्ष कम्पनीको कुल आम्दानीमा बृद्धि भएसँगै नाफा बढेको हो । गत वर्ष रू. ६ करोड ४० लाख ६७ हजार कुल आम्दानी गरेको यस कम्पनीले यस वर्ष रू. २० करोड ३० लाख २८ हजार यो आम्दानी गरेको छ । विद्युत विक्रीबाट कम्पनीले यस वर्ष रू. १४ करोड १२ लाख ५७ हजार आम्दानी गरेको छ । कुल आम्दानीमा उल्लेख्य बृद्धि हुनुमा यस वर्ष विद्युत विक्री आम्दानीले मद्दत गरेको हो । गत वर्ष पहिलो त्रैमासमा अपिले विद्युत विक्रीबाट रू. ६ करोड ३८ लाख ५७ हजार मात्र आम्दानी गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाख रहेको छ । अपिले यहि पूँजीको आधारमा कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर विक्री गरिरहेको छ । अपिले विगत दुई आर्थिक वर्षको लागि १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न मंसिर ८ गते संयुक्त साधारण सभा गर्दैछ । उक्त सभाले शून्य दशमलव ८६ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
चालू आवको पहिलो त्रैमासमा अपि पावरको जगेडा कोषमा रू. २८ करोड ९२ लाख ९१ हजार जम्मा भएको छ । गत वर्ष यसै अवधिसम्म यो रकम रू. ११ करोड ६८ लाख ८० हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम १४७ दशमलव ५१ प्रतिशतले बढी भएको हो । गत वर्ष रू. १२ दशमलव शून्य ८ रहेको अपिको प्रतिशेयर आम्दानी यस वर्ष रू. ३५ दशमलव ७४ पुगेको छ । त्यस्तै गत वर्ष रू. १०९ दशमलव ८२ रहेको प्रतिशेयर नेटवर्थ यस वर्ष रू. १२४ दशमलव ३० पुगेको छ । गत वर्षभन्दा यस वर्ष अपि पावरको सबै परिसूचकमा राम्रो प्रगति देखिन्छ ।
अपिले हाल दुई आयोजनाहरुबाट विद्युत उत्पादन गरिरहेको छ । अपिले दार्चुला जिल्लामा रहेको ८ दशमलव ५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट २०७२ भदौ २ गतेदेखि र ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनाबाट २०७६ साल कात्तिक १३ गतेदेखि विद्युत उत्पादन गर्दै आएको हो । अपिले दार्चुला जिल्लामै तेस्रो आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस