aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

धमाधम आईपीओ जारी गर्दै नयाँ बीमा कम्पनी, कसको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ कार्तिक २०७७
धमाधम आईपीओ जारी गर्दै नयाँ बीमा कम्पनी, कसको कति ?

काठमाडौं । देशमा सञ्चालित बीमा कम्पनीहरूले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेका छन् । नयाँ ९ बीमा कम्पनीले ५  अर्ब ६५  करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न लागेका हुन् । कम्पनीहरूले ३० प्रतिशत सेयर सर्वसाधारणको  लागि छुट्याउनु पर्ने कानुनी प्रावधानका कारण उक्त मूल्य बराबरको सेयर निष्कासन गर्न लागेका हुन् । कम्पनीहरूले उक्त आईपीओ पास गराउन धमाधम साधारणसभा गर्ने गराउने क्रममा रहेका छन् । 

बीमा समितिले गरेको प्रावधान अनुसार जीवन बीमा कम्पनीहरूले २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब पुँजी पुर्याउनु पर्ने हुन्छ । सोही प्रावधान अनुसार सिटिजन लाइफ, आईएमई लाइफ।, ज्योति लाइफ, महालक्ष्मी लाइफ, प्रभु लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा लाइफ, सन नेपाल र  युनियन लाइफले आइपीओ जारी  गर्ने तयारी गरेका हुन् ।

नयाँ बीमा कम्पनीमध्ये अजोड, सानिमा जनरल, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारण शेयर जारी गरिसकेका छन् । 

आईपीओ निष्काशन गर्न  बाँकी ९  वटा नयाँ बीमा कम्पनीमध्ये सिटिजन लाइफले ७५ करोड, युनियन लाइफले ६४ करोड ५० लाख, आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड मूल्य बराबरको आईपीओ निष्काशन गर्न लागेका हुन् । महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड , रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड रुपैंयाको आइपीओ जारी  गर्नेछन्  ।

आईपीओ जारी भएपछि सिटिजन लाईफ इन्स्योरेन्सको २ अर्ब ५० करोड,  ज्योति लाईफको २ अर्ब २० करोड, युनियन लाईफ इन्स्योरेन्सको २ अर्ब १५ करोड  रुपैयाँ पूँजी पुग्नेछ । त्यस्तै आईपीओ जारी पश्यात सानिमा, प्रभु, रिलायवल, आईएमई, महालक्ष्मी र सन् नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । 

नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये  १०  वटा नयाँ जीवन कम्पनी र ३  वटा नयाँ निर्जीवन बीमा कम्पनी हुन् । युनियन, ज्योति, आईएमई, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, प्रभु, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स  कम्पनी नयाँ निर्जीवन बीमा कम्पनी हुन् ।


 

प्रतिक्रिया दिनुहोस