
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रस्ताव गरेको ९ दशमलव ४७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । गत आर्थिक वर्ष २०७६÷७७ को लागि कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अपिले आर्थिक वर्ष २०७५÷७६ को १६ औं र २०७६/७७ को १७ औं वार्षिक साधारण सभा मंसिर ८ गते संयुक्त रूपमा बोलाएको छ ।
आर्थिक वर्ष २०७५/७६ को १६ औं वार्षिक साधारण सभाका लागि चैत १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गरेको कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि मंसिर १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउने भएका हुन । आर्थिक वर्ष २०७५/७६ को लाभांश भने फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।
यस अघि अपिले ५ प्रतिशत बोनस शेयर र हकप्रद शेयरको प्रस्ताव सहित चैत ७ गतेका लागि आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा आव्हान गरेको थियो । कोरोना महामारीका कारण उक्त सभा स्थगित भएको हो । पछिल्लो सुचनामा उक्त आर्थिक वर्षका शून्य दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव पनि कम्पनीले गरेको छ ।
गत आर्थिक वर्षको लागि प्रस्तावित बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ८६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । यस अघि कम्पनीले ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ९१ को अनुपातमा दोस्रो चरणमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । अपिले कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । गत आर्थिक वर्ष २०७६÷७७ को लाभांश यो हकप्रद शेयरधनीहरुले भने नपाउने कम्पनीको भनाई छ ।
५ प्रतिशत बोनस शेयर प्राप्त गर्ने शेयरधनीहरुले भने ९ प्रतिशत बोनस शेयर प्राप्त गर्न सक्नेछन् । हाल अपिको चुक्तापूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ । ४७ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस