aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनाइटेड इदी-मर्दीको आईपीओ आजदेखि बिक्री खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
युनाइटेड इदी-मर्दीको आईपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ आज (बुधबार)देखि बिक्री खुल्ला गरिएको छ । यस अघि सर्वसाधारणका लागि कात्तिक २७ गतेदेखि बिक्री गर्ने भनिएकोमा नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा बुधवारदेखि विक्री खुल्ला गरिएको हो । 

कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले स्थायिनका लागि कुल ४ लाख २० हजार कित्ता आईपीओ असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म बिक्री खुला गरेको थियो । स्थानियमा करिब ४२ प्रतिशत मात्र शेयर वितरण भएको छ । कात्तिक १७ गते कम्पनीले स्थानिलाई कुल कित्तामध्य १ लाख ७६ हजार ९० कित्ता शेयर बाँडफाँट गरेको हो ।   

स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयर समेत जोडर सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण गर्नेछ । कुल कित्तामध्य कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता शेयर सार्वजनिक निष्कासन गर्नेछ । कम्पनीले ४३ हजार ६९६ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्याएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।

यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६/७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ  ८५ दशमलव ८२ रुपैयाँ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस