
काठमाडौं । कात्तिक १४ गतेदेखि विक्री खुला गरेको अपि पावर कम्पनी लिमिटेडको ४७ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ । गत फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हकप्रद शेयर अपिले आठ महिनापछि विक्री खुला गरेको हो । अपिले १ बराबर शून्य दशमलव ४७ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गरेको हो ।
अपिले ४७ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । अपिको यो हकप्रदलाई इक्रा नेपालले औषतभन्दा तलको आधार संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यो हकप्रद विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
विक्री प्रबन्धकसँगै अपि पावर कम्पनीको थापाथली कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, बीरगञ्ज, पोखरा , बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेतका साथै ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु गोकुेलेश्वर, नौंगाड, खलंगा र बैतडीबाट आवेदन दिन सकिनेछ । त्यस्तै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखाकार्यलय र सिडिएससीको मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
अपिले तेस्रो जलविद्युत आयोजनको रुपमा रहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल अपिको चुक्तापूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ । सोहि चुक्तापूँजीको आधारमा अपिले हकप्रद विक्री गर्न लागेको हो । यस कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । हकप्रद पश्चात अपिको चुक्तापूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस